News 24 Television
नाउपा र जनमतको एकता सभा भाँडियो

काठमाडौं ।

नाउपा संरक्षक  रेशम चौधरीलाई पक्राउ गरिएपछि एकता घोषणासभा स्थगित गरियो । बुधबार बिहानैदेखि कमलादीस्थित प्रज्ञा भवनमा उत्साहको लहर चलेको थियो । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको बहुप्रतीक्षित एकता घोषणा हुने खबरले माहोल गर्मिएको थियो । 

उपेक्षित समुदायको प्रतिनिधित्व गर्दै आएका यी दुई शक्तिहरू अब एउटै छातामुनि आउने तयारीमा छन् भन्ने सुन्दा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरू उत्साहित मुद्रामा देखिएका थिए । देशलाई निकास दिने सपना बोकेर आएको नेता कार्यकर्ताहरुले बताइरहेका थिए । 

तर त्यो उत्साह धेरैबेर टिक्न सकेन । एकीकृत पार्टी घोषणाको तयारी भइरहेका बेला नै अचानक नाटकीय मोड आयो । नेता रेशम चौधरीलाई प्रहरीले कार्यक्रमस्थल प्रज्ञा प्रतिष्ठानबाटै पक्राउ गरी एकाएक डिल्लीबजार कारागारमै पठायो । 

एकछिनअघिसम्म उल्लासित देखिएको माहोल एकाएक तनावपूर्ण बन्यो । स्तब्धता र आक्रोशले भरिएको वातावरणमा केही कार्यकर्ताहरू चौधरीको समर्थनमा डिल्ली बजारतर्फ हानिए भने बाँकीले कार्यक्रमस्थलमै सरकारविरुद्ध नाराबाजी गरे । आक्रोशित कार्यकर्ताहरुले वर्तमान ब्यवस्थाका विरुद्ध पनि नाराबाजी गरे । 

रेशम चौधरीको पक्राउले पुनः एकपटक नेपालको पहिचान राजनीति र सत्ताको खेलबीचको अन्तरद्वन्द्व सतहमा ल्याएको छ । एकताका लागि बसेको मञ्चबाटै चौधरीलाई उठाएर लैजानु सामान्य प्रशासनिक कार्य जस्तो देखिए पनि यसको समय र तरिका राजनीतिक नियतबाट प्रेरित भएको आशंका गरिएको छ । 

मधेशको पहिचान र अधिकारका विषयमा विभिन्न धार भएका दलहरूबीच एकताको सम्भावना देखिँदै गर्दा त्यही क्षण उनलाई पक्राउ गर्नुले एउटा गहिरो सन्देश दिएको छ राज्य वा केही शक्तिशाली घेराहरूलाई यस्तो एकता मन परेको थिएन । 

के वास्तवमै अन्य मधेशवादी दलहरू मिलेर यो एकता प्रक्रिया भाँड्न खोजिरहेका छन् ? यदि जनमत पार्टीको आरोपमा केही साँचो अंश छ भने यो मधेश राजनीतिमा गम्भीर खाडलको संकेत हो । 

सत्ता प्राप्तिका लागि पहिचानकै राजनीतिमा रमाएका दलहरू एक अर्काको खुट्टा तान्न तयार छन् भने यो जनताका लागि दुर्भाग्यपूर्ण हो । तर मुद्दा नै विचाराधिन अवस्थामा सर्वोच्चबाट पुगेको भनिएको पत्र नै विवादित बनेको छ । 

सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए । जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो । विष्टले लेखेको पत्र नै विवादित बनिदियो ।

तत्काल थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएसँगै चौधरी बुधबार नै कारागारमुक्त भएका छन् । यद्यपि यहि कचिंगलकाबीच दुई पार्टी एकता घोषणा कार्यक्रम भने अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update