News 24 Television
सर्वोच्चको स्पष्टोक्तिमा सीके राउतको आशंका, सामान्य त्रुटि नभएको दाबी  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी एकाएक पक्राउ परेपछि विकसित घटनाक्रमले ठूलो शंका उब्जाइदिएको छ । पार्टी एकताकै दिन पक्राउ गर्न सर्वोच्चबाट गएको पत्र र सर्वोच्चले त्यहि पत्रलाई अवैध भन्दै अर्को पत्र लेख्नुले न्यायिक प्रक्रियादेखि मुलुकको राजनीतिक प्रणालीमाथिका प्रश्न जब्बर बनेका छन् । 

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाको कार्यक्रमका लागि नेताहरु प्रज्ञा प्रतिष्ठान पुग्नेक्रम चलिरहेको थियो । नेताहरुको आउजाउ बाक्लिदै गर्दा एकाएक माहोल बिग्रिन पुग्यो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परे । 

रेशम पक्राउ परेपछि दुई पार्टीबीच हुने भनिएको तयारी तत्काल स्थगित भयो । नेताहरु तितरवितर बने । रेशम डिल्लीबजार कारागार चलान नै भएपछि यसबारे अनेक शंकाहरु उब्जिएका छन् । डिल्लीबजार कारागारबाट बाहिर निस्किदै गर्दा जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमाथि आक्रोश पोखे । 

रेशम के कारणले जेल चलान भए भन्ने विषय केहि समय अन्योलमा प¥यो । प्रहरीले सर्वोच्चको आदेश कार्यान्वयन गरेको भन्यो । सवोच्च अदालतमै अन्यौलको स्थिति देखियो । सर्वोच्चबाट पत्र लेख्ने महिमानसिंह विष्ट आफै प्रहरी हिरासतमा पुगेका छन् ।

विष्टले लेखेको पत्र सर्वोच्चको रेकर्डमा पनि भेटिएन भने उनले प्रहरीलाई दिएको प्रारम्भीक बयानअनुसार टिकापुर घटनामा मारिएकाहरुको आत्माले पोलेकाले यस्तो पत्र तयार पारेको भनेको बताइन्छ । यद्यपी त्यो पत्र अस्वभाविक मात्रै नभएर कानूनी र न्यायिक समेत देखिएन ।

रेशम रिहा

रेशम चौधरी पक्राउ परेको केहि घण्टामै रिहा भएका छन् । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र अनाधिकृत रहेको भन्दै सार्वजनिक वक्तव्य नै जारी गरेको छ । 

सर्वोच्चले पत्रलाई अनाधिकृत भन्दै डिल्लीबजार कारागारमा पत्र पठाएपछि रेशम रिहा भएका हुन् । रेशमले रिहा भएपछि मध्य बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै राज्य आतंक शुरु भएको दाबी गरेका छन् । 

सर्वोच्चले पत्र डिल्लीबजार कारागारलाई पत्र लेख्दै महिमानसिंहले लेखेको पत्र कार्यान्वयन नगर्न पत्राचार गरेको हो । यो पत्रपछि डिल्लीबजार कारागारले रेशमलाई रिहा गरेको छ । 

शंका सरकारमाथि

पार्टी एकतास्थलबाटै एकाएक पक्राउ पर्नुलाई सामान्य घटनाको रुपमा लिन सकिने स्थिति भने देखिन्न । मधेस र थारु जनमतसहित अघि बढिरहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुनै लाग्दा रेशमलाई फेक पत्रको आधारमा पक्राउ गर्ने विषयलाई सामान्य त्रुटीको रुपमा मात्रै लिन नसकिने बताइएको छ । 

कर्मचारीलाई मोहोरा मात्रै बनाइएको भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि माथिल्लो तहबाटै यस्तो गरिएको भन्दै सरकारतर्फ यसको संकेत गरेका छन् ।

प्रहरीमाथि प्रश्न

लामो समयसम्म फरार भन्दै घरमै बसेकालाई पक्राउ नगर्ने प्रहरीले रेशमलाई पक्राउ गरेपछि प्रहरीमाथि समेत प्रश्न उठेका छन् ।

सत्ताको चाकडीमा प्रहरीले हदैसम्मको काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेको हकमा होस् वा कांग्रेसकी फरार अवस्थामै सांसद गिता राईले संसदमा पुगेर हाजिर गरेर टाप कसेको विषय होस, सरकार र प्रहरीमाथिका प्रश्नहरु पेचिला बनिरहेका छन् । 

उसोतः राई आलोचनापछि पक्राउ परिसकेकी छन् । यता, लेखा समिति सभापति ऋषीकेश पोखरेल पत्नीमाथि समेत राज्यले गज्जबको व्यवहार गरेको देखिएको थियो । यस्ता विषयले प्रहरीको कार्यसम्पादनमाथि समेत प्रश्न उठिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update