
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन् ।
बिहीवार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमी रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा हुने उनकाे विश्वास छ । देउवाले नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको बताए । यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानूनहरु नेपाली काँग्रेसको सरकार (आफू प्रधानमन्त्री) रहेकै बेलामा आएको बताए ।
सभापति देउवाले भने, ‘नेपालको संविधानले रोजगारी र श्रमीकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानूनहरु नेपाली काँग्रेसको सरकार रहेकै बेलामा आएका हुन् । म प्रधानमन्त्री भएको समयमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको पनि हो । सामाजिक सुरक्षाले श्रमीकहरुको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्दछ । स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमी रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा गर्नुछ । त्यसैले पनि श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’
देउवाले लोकतन्त्रमा सबै श्रमिकको अधिकार सुरक्षित हुने बताए । नेपाली काँग्रेस श्रमिक अधिकार दिने पक्षमा सदैव अग्रस्थानमा रहेको जिकिर समेत गरे ।