News 24 Television
‘श्रम संसार’ पोर्टलको शुभारम्भ, रोजगारीमा भनसुन अन्त्य भएको दाबी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । अहिले नेपालमा भनसुनको आधारमा मात्रै रोजगारी पाइने स्थिति रहेको उनको भनाइ छ ।

मन्त्री भण्डारीले भनसुन र आफ्नो मान्छे नभएकाहरु रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरुमा नैराश्यता बढिरहेको बताए । उनले नेपालको श्रम बजारमा दक्ष जनशक्तिको अभाव रहेको भन्दै विदेशी श्रमिकहरु आएर नेपालको माग धानिरहेको दाबी गरे ।

नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भए पनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत उनले बताए । अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको मन्त्रीकाे दाबी छ ।

मन्त्री भण्डारीले भने, ‘अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति छ । अहिले कहीँ पनि मान्छे चाहियो भने मलाई यति मान्छे चाहिएको छ पठाइदिनु भनेर भनसुन हुने गरेको छ । त्यसले गर्दाखेरी युवाहरुमा जसको मान्छे र भनसुन छैन उसले केही पाउदैन भन्ने नैराश्यता भयो । अब त्यसको अन्त्य हुने भयो । अब जोसँग क्षमता र योग्यता छ उसले रोजगारी पाउने स्थिति सिर्जना भयो । अहिले रोजगारदाताहरुलाई चाहिने दक्ष जनशक्ति छैन । भएका दक्षजनशक्तिलाई समेत रोजगारदाता कहाँ छन् भन्ने थाहा छैन । अहिले नेपालमा प्रत्येक वर्ष पाँच लाख मानिसहरु श्रम बजारमा आउँछन् । तर सीपयुक्त नभएकै कारण उनीहरुले रोजगारी पाइरहेका छैनन् । हामी सिपयुक्त नभएकै कारण बाहिर अर्काको देशमा गएर काम गरिरहेका छौं । हामीसँग भएको सीपयुक्त काम चाहीँ बाहिरको मान्छे आएर गरिरहेका छन् । अबको दशकमा हामीले नेपाली श्रमिकहरुलाई सीपयुक्त बनाउँदै बाहिरका मानिसहरुलाई विस्थापित गर्दै जाने हो ।’

उनले श्रम र रोजगारदाताबीचको सम्पर्कलाई मजबुत बनाउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update