News 24 Television
सरकारमा जाँदैनौँ, नयाँ आन्दोलनमा जान्छौँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन् । १ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बरू नयाँ आन्दोलनमा जाने बताए ।

यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै उनले आफूहरू जनताहरूसँग नै ठिक रहेको बताए । सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न पनि उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे । उनले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको धारणा राखे ।

प्रचण्डले भने, “हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ । तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनु होला । हामी आन्दोलनद्वारा फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर हामी अग्रसर छौँ । मैले तपाईंहरूलाई गम्भीरपूर्वक अपिल गर्न चाहन्छु, तपाईंहरू अगाडी आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो एकताको बलमा र हामीले अहिले पार्टीलाई नयाँ ठाउँमा लैजान जुन जमर्को लिडरसिपको लेभलबाट गरेका छौँ, त्यसलाई तलसम्म पु¥याउन सकियो भने संविधान संशोधन पनि हामीले भनेअनुसार गर्न सकिन्छ ।”    

अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको बताए । उनले माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गरे । उनले नेपाली काँग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दा समेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गरे । उनले नयाँ आन्दोलन, नयाँ अभियान र नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको दोहोर्याउँदै आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
 
साथै, मुलुकमा पछिल्लो समय राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको बताउँदै उक्त दुःसाहसलाई रोक्ने ठूलो जिम्मेवारी आफूहरूको काँधमा आएको समेत उनले बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update