News 24 Television
सुनिताको सक्रियताले बालेन छायाँमा !

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यतिबेला एक किसिमको अदृश्य सत्ता द्वन्द्व चलिरहेको छ । जनताद्वारा निर्वाचित मुख्य जनप्रतिनिधि मेयर र उपमेयरबीच चार महिनादेखि न संवाद छ न सहकार्य । तर अनौपचारिक रुपमा एकले अर्काप्रीत तिखो टिप्पणी भने गरिरहेका छन् ।  

मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीचको यो चिसो तर चर्को टकराव अब खुला असहमति र संस्थागत अप्ठ्यारोमा रूपान्तरण भएको छ । 

नियमित बस्नुपर्ने कार्यपालिका बैठक ठप्प छ, नीति निर्माण ठप्प छ र जनअपेक्षाको पहाड अगाडि नेतृत्व मौन छ । 

काठमाडौँ महानगरपालिकाको राजनीतिमा यतिबेला शीत युद्ध चरम उत्कर्षमा पुगेको छ । करिब चार महिनादेखि कार्यपालिका बैठक नबसेपछि प्रमुख तथा उपप्रमुखबीचको सम्बन्धको चिरा खुला टकरावमा रूपान्तरित भएको छ । मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलबीचको पछिल्लो खटपटले काठमाडौँ महानगरको सुशासनमा गम्भीर प्रश्न उठाउँदैछ ।

नेतृत्वको अकर्मण्यता कि अडानको टकराव ?

२०७८ सालमा निर्वाचित भएदेखि नियमित बस्दै आएको कार्यपालिका बैठक अन्तिमपटक १६ औँ नगरसभासँगै पुस १४ गते बसेको थियो । त्यसयता काठमाडौँ महानगरमा न त नीति बनेका छन् न बजेट कार्यान्वयनमा सहजता देखिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐनको १७ नम्बर बुँदाअनुसार महिनामा कम्तीमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने कानुनी प्रावधान छ । तर, चार महिनादेखि कार्यपालिलिका बैठक नै बसेको छैन । जुन कार्यपालिकाको चरम लापरवाहीको संकेत हो । 

मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सदस्यसचिवको रूपमा स्वीकार नगर्ने अडान लिँदै बैठक नै नबोलाएका हुन् । पुरानो वसपार्कस्थित भ्युटावर अनियमिततामा छानबिन समिति बनेपछि बालेनले निलम्बन गरेका गुरागार्ईँ फागुनमा पुनः पदमा फर्किए । गुरागाईँको पुनरागमनलाई लिएर बालेन उनीसँग मात्र होइन, संघ सरकारसँग नै बालेन चिढिएका छन् ।
 
डंगोलको खुला असन्तुष्टि 

तीन वर्षसम्म मेयर शाहका विवादास्पद निर्णयहरूमा मौन समर्थन जनाउँदै आएकी उपमेयर डंगोल अब भने स्पष्ट प्रतिरोधको भूमिकामा देखिन्छिन् । 

कार्यपालिका बैठकको माग गर्दै उनी सार्वजनिक रूपमा चार महिनादेखि बैठक बस्न नसकेको र कसको कारण सबैलाई थाहा भएको बताएकी थिइन् । 

उनले कानूनबाहिर गएर बैठक बोलाउन नसकिने बताए पनि महानगरमा एजेन्डा चाङ लागेको भन्दै जनउत्तरदायित्वको वकालत गरिरहेकी छन् । 

आफ्नै कार्यालयमा काम गर्दै पनि मेयरसँग चार महिनासम्म न भेटिएको र भेटको प्रयास भइरहेको उनले सार्वजनिक रूपमा स्वीकार गरिन् । डंगोलले वैशाख ११ गते एमालेद्वारा आयोजित यूथ सेलिब्रेसन कार्यक्रममा दिएको भाषणले आगोमा घ्यु थपेको देखिन्छ । 

‘स्टन्ट गरेर देश बन्दैन’ भन्ने उनका भनाइलाई एमाले पंक्तिले वाहवाही गरे पनि बालेन समर्थकहरूले सामाजिक सञ्जालमा सुनिताको निकै आलोचना गरिरहेका छन् । एमाले युथको कार्यक्रममा सुनिताले पहिलो पटक पार्टीलाई रिझाउने गरी अभिब्यक्ति दिएकी थिइन् ।   

तर,  डंगोलले महानगरभित्र कसैसँग कुनै झगडा नरहेको बताएकी छन् । मेयर बालेनतिर संकेत गर्दै उनले महानगरमा कसैको कसैसँग झगडा नभएको बताएकी हुन् । यद्यपि संस्थागत रुपमा केही पनि झगडा नभएको तर प्रजातन्त्रमा वाद, विवाद र संवाद हुनुपर्ने बताइन् ।

काठमाडौँ महानगरको कार्यपालिका बैठक नबस्नुले नीति निर्माणदेखि बजेट कार्यान्वयनसम्म सबै पक्ष प्रभावित भएको छ । 

एउटै कार्यालयभित्र बसेका दुई प्रमुख नेतृत्वबीच संवादहीनता, अविश्वास र आन्तरिक द्वन्द्वको यो अवस्था विकराल रूपमा महानगरको प्रशासनिक असफलताको द्योतक बनेको छ । 

के उपमेयर डंगोलको प्रतिरोधले काठमाडौँको शासन सञ्चालनमा पारदर्शिता र उत्तरदायित्व फर्काउँछ ? वा यो पनि अर्को राजनीतिक स्टन्टमात्रै सावित हुनेछ ? सत्ता र सार्वजनिक उत्तरदायित्वबीच द्वन्द्व उत्पन्न हुँदा सधैं अन्त्यमा जनताले मूल्य चुकाउनुपर्छ । काठमाडौँ महानगर अहिले त्यसैको ताजा उदाहरण बनेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update