News 24 Television
ओलीविरुद्ध कांग्रेसमा आवाज चर्किदै, गगन–शेखर बम्किदा देउवा चुप !

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरु मिलेर केपी शर्मा नेतृत्वमा सरकार बनेको आउने असारमा एक वर्ष पुग्दैछ । करिब एक वर्षको यो समय अवधिमा सरकार मुलुकको विकासमा भन्दा सत्ता गठबन्धनबीचको खिचातानीमा केन्द्रित देखिन्छ । अझ् विशेष गरि कांग्रेस नेता शेखर कोइराला र गगन थापा सरकारका लागि टाउको दुखाईको विषय बने । सत्तापक्षका नेताहरुले नै सरकारमाथि गरेको श्रृखलाबद्ध प्रहार कस्तो छ त ? 

सरकार बनेको आउने असार महिनामा एक वर्ष पुग्दैछ । तर, सरकारको कार्यसम्पादनप्रति साझेदार दल नै असन्तुष्ट देखिएको छ । करिब एक वर्षको यो समय अवधिमा सरकार मुलुकको विकासमा भन्दा सत्ता गठबन्धनबीचको खिचातानीमा केन्द्रित देखिन्छ । 

सत्ता साझेदार दल नेपाली काँग्रेसका महामन्त्रीदेखि अन्य नेताहरु निरन्तर सरकारको बिरोधमा उत्रिरहेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने मौन छन् । महामन्त्री थापा सरकारप्रति आक्रोशित बनेपनि उनको आक्रोश अर्थपूर्ण बन्न सकेको छैन । 

सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य थापाको आक्रोशलाई सभापति देउवाले नजरअन्दाज गरिरहेका छन् । संसदका दुई ठूला दलले संविधान संशोधन लगायतका मुख्य ७ वटा बुँदा सहमति जनाएर सरकार निर्माण गरेपनि सरकारको कामप्रति नेपाली काँग्रेस खुशी छैन । 

प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वको सरकारका मन्त्रीहरुको कार्य सम्पादनप्रति गगनले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका छन् । 

सरकारविरुद्ध गगनका टिप्पणीको श्रङ्गखला

१. सरकारको गति सुस्तमा असन्तुष्टि

सरकारले नागरिकका अपेक्षाहरु पूरा गर्न गति लिन नसकेको आरोप गगनको छ । 

२. विचौलिया प्रधानमन्त्रीको बेडरुम सम्मै !

गगन यतिमा मात्रै रोकिएका छैनन् । उनले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको सम्मको आरोप लगाएका छन् । 

निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै विचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको उनको जिकिर छ । 

३. बिँड तात्यो, ताप्के तातेन !

गगनका आरोप र असन्तुष्टियुक्त अभिव्यक्तिका श्रङखला चरणबद्ध छन् । केही दिनअघि चैत २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय उनले व्यक्त गरेका थिए । 

सरकारले राम्रो काम गरोस् भनेर आफूहरुले सहयोग गरिरहेको बताउँदै उनले “बिँड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ” भन्दै आलोचना समेत गरे । 

४. असन्तुष्टि : कुलमान प्रकणदेखि शिक्षक आन्दोलनसम्म 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने कुरा होस् वा प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रमको उद्घाटन मोह होस्, त्योप्रति काँग्रेस महामन्त्री गगनलाई पटक्कै रुचेको छैन । काठमाडौंमा केही दिन पहिलेसम्म जारी शिक्षकहरुको आन्दोलन रोक्न  र उनीहरुका माग सम्बोधन गर्न सरकारले काम नगरेको भन्दै गगनले त्यस समय पनि सरकारको आलोचना नै गरेका थिए । 

५. अहिलेको प्रधानमन्त्री भन्दा मैले राम्रो गर्न सक्छु 

केही महिनाअघि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका थिए । 

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण पार्टीको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै अबको दशक खेर फाल्न नहुने उनले जिकिर गरेका थिए । 

सरकारमै रहेर पनि कामप्रति असन्तुष्टी जनाउँदै आएका गगनले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने समेत बताउदै आएका छन् । 

आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको धारणा छ । 

यसरी सत्तापक्षकै प्रभावकारी नेताले सरकारको काममा औलाउठाउँदै गर्दा उनकै पार्टी सभापति शेरबहादुर देउवाले सरकारले ठिकै काम गरिरहेको छ भनिरहेका छन् । जेलमा सँगै बसेको साथी भएकाले ओलीको खुबी थाहा रहेको समेत भन्न भ्याएका छन् देउवाले । 

मुलुकमा बढ्दो बेरोजगारी र युवाहरु विदेश पलायन हुनबाट रोक्न, कोरोनापछि अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न र विकासको गतिलाई तिब्रता दिन सरकारले जाँगर चलाएको छैन । यसैको उपज हुन् सत्ता गठबन्धनबाटै असन्तुष्टिका स्वर ठुला हुँदै जानु । तर, आफुलाई सुधार गर्दै लैजानेमा सरकारको कुनै छाटकाट देखिएको छैन । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update