News 24 Television
फेरि जम्दै माधव–वामदेव दोस्ती, रोक्ने रणनीतिमा एमाले ! 

काठमाडौं । शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको संयुक्त बैठकमा माधव नेपाल र वामदेव गौतम एकै लहरमा देखिएपछि एमाले पङ्ति भने अतालिएको छ । दुवै नेताहरु पूर्व एमाले आबद्ध भएपनि हाल माधव नेकपा एकीकृत समाजावादी गठन गरेर अध्यक्ष बनेका छन् । त्यस्तै वामदेव भने नेकपा एकता राष्ट्रिय अभियनका संयोजक छन् ।

यसअघि वामदेवलाई माधव र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आ–आफ्नो पार्टीमा भित्र्याउने प्रयत्न गरेका थिए । तर दुवै नेता वामदेवलाई भित्र्याउन असफल भएका छन् । यद्यपि राष्ट्रियसभा सदस्यसमेत रहेका वामदेव गौतम भने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा नेकपा एसका सांसदहरु रहेको लहरमा बसेपछि एमाले पङ्ति भने अतालिने अवस्थामा पुगेको हो । 

ओलीको ‘रियाक्सन’ कस्तो ? 

संसदको एकै लहरमा माधव र वामदेव देखेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा सांसद सुर्य थापा आइतबार नै वामदेव निवास पुगेको चर्चा सुरु भएको छ । आइतबार बिहानै वामदेव निवासमा पुगेर फोटो नै पोष्ट्याएका सुर्य थापाले वामदेवको प्रसंसा गर्दै प्युठानको समग्र विकासका लागि हातेमालो गर्ने विषयमा समझदारी गरेको उल्लेख गरेका छन् । 

उनले फेसबुकमा भनेका छन् – ‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ । मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो–जाग्दो नै रहेको छ । हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुबैले आ–आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं।

तर सुर्य थापा र वामदेवको भेटको तात्पर्य निर्वाचन क्षेत्रको विकासको लागि सहकार्य र त्यसको लागि थप समझादारी गर्ने प्रयास मात्रै होइन् । थापा पार्टी नेतृत्वकै निर्देशनमा बामदेवालाई नेकपा एससँगको निकटता धमिल्याउने  र ओलीसँगै विस्वासको वातावरण  सृजना गराउन लागि परेको रुपम व्याख्या गर्न सकिन्छ । किनकी सुरुमा एमाले प्रवेशको अन्तिम तयारीमा पुगेका वामदेव ओलीकै कारण निरास भएर फर्किनुपरेको थियो । यसपछि ओलीप्रति वामदेवको अविश्वास झनै बढेकोस्थिति छ । आस्वसन नै दिएर पार्टीमा अन्तिम निर्णय गराउन नसकेपछि वामदेव ओलीसँग रुष्ट छन् । यसपछि ओली र वामदेव संवादविहीन थिए । तर पछिल्लो सयम वामदेव माधवसँग निकट देखिएपछि पुनः ओली यसलाई रोक्ने रणनीतिमा छन् । यसको प्रयोजनार्थ थापा वामदेव निवास पुगेको टिप्पणी भइरहेका छन् । 

वामदेवको अन्योलता र ओलीको धोका !

वामदेवले गत माघमा नेकपा एस प्रवेश गर्नेगरी छलफल चलाए । उनले अध्यक्ष माधव नेपालसँगै बसेर वृहत छलफल गर्दै पार्टी प्रवेशको तयरी समेत गरेका थिए । र, यसप्रति वामदेव उत्साहित पनि देखिन्थे । 

तर यही बीचमै एमाले अध्यक्ष ओलीले वामदेवलाई टेलिफोन नै गरेर वालुवाटार बोलाए । उक्त छलफलमै ओलीले एमाले प्रवेश गराउने आश्वसन देखाएपछि वामदेव थप उत्साहित बने । तर ओलीले एमाले प्रवेश गराउने सपना देखाएपनि समग्र पार्टी पङ्तिलाई वामदेव भित्र्याउने निर्णय भने गराउन सकेनन् । यसपछि वामदेव ओलीसँग थप रुष्ट भएका छन् । त्यसपछि वामदेव ओलीको एमाले प्रवेश गराउने प्रस्तावलाई नेकपा एस जानबाट रोक्ने अस्त्रको रुपमा मात्रै प्रयोग भएको व्याख्या गर्दै आएका छन् ।

यसपछि एकाएक दुवै पार्टीसँग वामदेवको संवाद रोकिएको थियो । यद्यपि पछिल्लो पटक सदनमै माधव र वामदेव एकै ठाउँ देखिएपछि ओली फेरि वामदेव रोक्ने रणनीति बुन्न थालेका हुन् । हुनत वामदेव एमाले वा नेकपा एस जुनै पार्टीमा भएपनि सिफ्ट हुने प्रयत्नमै छन् । 

अर्कोतर्फ वामदेव भित्र्याएको अवस्थामा कुनै पनि दलले राष्ट्रियसभामा एक सदस्य पनि प्राप्त गर्नेछ । यस्तोमा वामदेव नेकपा एस प्रवेश गर्नसक्ने र राष्ट्रियसभामा नेकपा एस थप शक्तिशाली हुने आशंकाबीच वामदेवलाई रोक्न ओली फेरि सुर्य थापामार्फत सक्रिय भएको अनुमान गर्न सकिन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update