News 24 Television
एमालेको निष्कर्ष : नीति तथा कार्यक्रम चुस्त र सही छ

काठमाडौँ । नेकपा (एमाले) ले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको बताएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको निष्कर्ष निकालेको हो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको बताए । उनले सचिवालय बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक रुपमा ग्रहण गरेको बताए । सांसदहरुले ठोस र परिणाममुखी बजेट निर्माण गर्न सुझाव दिएको ज्ञवालीले बताए ।

विगतका सरकारहरुले शुरु गरेको १८ हजार आयोजनाको आर्थिक स्रोत अस्तव्यस्त रहेको भन्दै उनले स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न सांसदहरुको सुझाव रहेको जानकारी दिए । संघीय सरकारले राष्ट्रिय स्तरका रणनीति आयोजनामा मात्रै ध्यान दिएर बाँकी कामहरु प्रदेश र स्थानीय सरकारको स्वामित्वमा गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको उनको भनाइ छ ।

ज्ञवालीले भने, ‘नीति तथा कार्यक्रम विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशा निर्देशको हिसावले पनि सही भएको बैकले निश्कर्ष निकालेको छ । त्यसलाई समर्थन गर्दै सकारात्मक रुपमा ग्रहण गर्दै नेता कमरेडहरुले आगामी बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा सुझाव दिनुभएको छ । मुलतः नीति तथा कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणामुखी होस्, विगतमा योजनाहरुको छनोट, स्रोतहरुको  विन्यास र योजनाहरुको प्रथमिकिकरणम धेरै भद्रगोल देखिएको छ । संघ सरकारसँग झन्डै १८ हजार योजनाहरु छन् र खरबौ रुपैयाँको दायित्व बाँकी रहने गरी स्रोत सुनिश्चितताका नाममा ठेक्कापट्टा लगाएको अवस्था छ । यो अव्यवस्थालाई चिर्दै बजेट आयोस्, संघ सरकारले राष्ट्रिय स्तरका रणनैतिक कुराहरुमा बढी फोकस गरोस् बाँकी कुरा प्रदेश स्थानीय तहलाई छोडोस भन्ने तहमा नेताहरुले विशेष जोड दिनुभएको छ ।’

उपमहासचिव ज्ञवालीले नेताहरुले उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएको पनि बताए । किसानको आम्दानी वृद्धि हुने र नेपाललाई कृषिमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले भथे, ‘यो बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्छ । त्यसका लागि पुष्पलाल मध्यपहाडी लोकमार्गको समानान्तर मदन, भण्डारी राजमार्गको समानान्तर कृषि उत्पादनका पकेटहरु त्यस्का सघन क्षेत्रहरु निर्माण गर्ने र किसानहरुलाई जमिन प्रविधि बजार र वचतको इको सिस्टमभित्र ढालेर उहाँहरुको आम्दानी बढाउने र मुुलुकलाई कृषिमा आत्मनिर्भर हने गरी अगाडि बढाउनका लागि बजेट त्यसमा फोकस होस् भन्ने पनि सुझा प्राप्त भएको छ । त्यसैगरी, नीति कार्यक्रममा जेन जी पुस्तालाई  केन्द्रबिन्दुमा राखेर उद्यमशिलता उद्यमको इको सिस्टम निर्माण गर्ने भनिएको छ, त्यो कुरालाई फोकस गर्दै उहाँहरुसँगै बस्दै उहाँहरु के चाहनु हुन्छ र कठिनाइ के हो भनेर सूचना प्रविधिलाई विकासको महत्वपूर्ण उत्तोलकको रुपमा इनेबलरको रुपमा कसरी अगाडि बढाउन सकिन्छ उहाँहरुकै साझेदारीमा सूचना प्रविधिको जुन अथाह सम्भावना छ त्यसलाई ढोका खोल्ने गरी यो बजेटले ध्यान दिनुपर्छ भन्ने कुरामा सुझाव आएको छ ।’

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update