News 24 Television
ओली-प्रचण्ड भेटमा के भयो कुराकानी ? वर्षमान भन्छन्- सकारात्मक !

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आईतवार साँझ सिंहदरबारमा भएको भेटवर्तामा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताए ।

अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई जानकारी गराको उपमहासचिव पुनले बताए ।

द्वन्द्व पीडितहरुले प्रधानमन्त्री ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरु राखेकाे र सोमवार अध्यक्ष प्रचण्डसँग भेटेर छलफल गर्ने कार्यक्रम रहेको पुनले जानकारी दिए ।

उपमहासचिव पुनले भने, ‘टिआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका र चर्चा भएका र त्यसबारेमा भइरहेका प्रक्रियाको बारेमा प्रधानमन्त्रीज्युसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आज जिज्ञासाहरुमा छलफल भएको छ । प्रधानमन्त्रीज्युले अहिले भइरहेका प्रक्रियाहरु, पीडितहरुले उहाँसँग उठाएका सरोकारका विषयहरु र नेपाली काँग्रेसका सभापतिज्युसँग पनि भिक्टिमहरु गएर आफ्ना सरोकार राखेका रहेछन् । भोलि प्रमुख प्रतिपक्ष दलका नेता कमरेड प्रचण्डसँग समय लिनुभएको छ, छलफलका लागि । त्यही विषयहरुमा छलफल भयो ।’

उनले टिआरसीसँग सम्बन्धित प्रक्रियाहरु सकारात्मक रुपले नै अघि बढिरहेको आफूहरुले पाएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update