
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन एकातिर अनि, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंदेखि धेरै वडाध्यक्षहरु अर्कोतिर । अहिले काठमाडौं महानगरपालिकाको लफडागिरी यि दुई ग्रुपबीच देखिन्छ ।
बालेन र गुरागाईंदेखि उपमेयरसम्मलाई रणमैदानमा उत्रेझै गर्नुपर्ने अवस्थाको कनेक्सन कहाँ छ त ? के यहाँ शक्ति र आर्थिक चलखेलको ठुलो बार्गेनिङ चलिरहेको हो ?
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र शीर्ष कर्मचारी अहिले रणमैदानमा उत्रेझै देखिने गरि लफडा मच्चाई रहेका छन् । उनीहरुको पौठेजोरी देख्दा लाग्छ यहाँ भीषण बबण्डर छ । खासमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन एक कित्तामा छन्, अनि अर्कातिर, उपमेयरदेखि अधिंकाश वडाध्यक्षहरु छन् ।
उनीहरुको शक्ति प्रदर्शन अहिले काठमाडौंको पुरानो बसपार्कमा रहेको निर्माणाधीन काठमाडौं टावरको तला थप्ने वा नथप्ने भन्नेमा केन्द्रित छ । यो विवादको लहरो फैलिदै–फैलिदै फेरि १६ तले हिल्टन होटलसम्मै बजारिएको छ ।
लफडाको चुरोकुरो के ?
काठमाडौं टावरको तल्ला थपको स्वीकृति दिने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको काम कैफियतपूर्ण भयो भन्दै बालेनले उनलाई कारबाही गर्न खोजे । काठमाडौं टावरबाट सुरु भएको मामिला अहिले हिल्टन होटलमा आइपुग्यो ।
काठमाडौं टावर १२ तल्लाभन्दा अग्लो हुन हुँदैन भने हिल्टन होटल १६ तल्लाको कसरी भयो ? हिल्टनले बनाएको १६ तल्लाको भवन निर्माण सम्पन्नताको प्रमाण पत्र दिने पनि गुरागाई नै थिए । हिल्टन होटलको भवनले कसरी १६ तल्लाको अनमुति पायो त ? जबकी यस्तो अनुमति काठमाडौं टावरलाई दिन खोज्दा रँडाको नै भइरहेको छ ।
यो अवस्था आउनु पछाडी आर्थिक चलखेल कहाँ कति छ ? वा यो लफडाको कनेक्सन फेरि कतै अन्तै त जोडिएको छैन ? यि चासो मेट्न महानगरपालिकाले गरेका कामको विगतलाई पल्टाउनु पर्ने देखिन्छ । काठमाडौंको वडा नम्बर १ नक्सालमा रहेको हिल्टन होटलको नक्सा पास कसरी भयो ? भन्ने विषयमा काठमाडौंका मेयर बालेन्द्र साहले अनुसन्धान भइरहेको छ भनेपछि यो मामिला फेरि एक पटक चासोमा परेको हो ।
घटनाक्रम हेर्दा कसले, कहाँ, कहिले, के गरे त ?
नेपालको प्रभावशाली व्यापारिक घराना जगदम्बा ग्रुपको ‘श्री जगदम्बा हस्पिटालिटी ग्रुप प्राली’को नाममा खडा भएको कूल १६ तल्लाको यो होटलको नक्सा पास कसरी सम्भव भयो ? भन्ने विषयका थुप्रै पक्ष विगतदेखि नै विवादित छन् ।
- काठमाडौं महानगरको सूचना अनुसार २०७२ साल पुस २९ गते हिल्टनले नक्सा दर्ता भएको हो ।
- २०७३ साल जेठ १९ गते प्लीन्थ लेभल अर्थात डीपीसीसम्मको इजाजत पत्रअनुसार २ वटा भूमिगत र जमिन माथि १४ तल्ला हुने गरी नक्सा स्वीकृत गरियो ।
- यसको मतलब हो, हिल्टनका लागि काठमाडौं महानगरले २०७३ साल जेठ १९ मै १६ तल्लाको भवन बनाउने गरी ल्याइएको नक्सा स्वीकृत गरेको थियो ।
- हिल्टनको हकमा यो विन्दुमै केही कैफियत देखिन्छ ।
अब हिल्टनको नक्सालाई काठमाडौं बसपार्कमा निर्माणाधीन विवादित काठमाडौं टावरसँग तुलना गरौं । काठमाडौं टावरका सम्बन्धमा मेयर बालेन्द्र साहले हालै फेसबुकमा लेखेको यो अंश हेर्नुहोस् ।
यहाँ भनिएको छ –काठमाडौं टावर निर्माण सुरु गर्नुभन्दा पहिला ७२ साल असार २२ गते काठमाडौं उपत्यका विकास प्राधिकरणले फार बढीमा २ दशमलव चार एक माथि जान नमिल्ने अर्थात १२ तल्लाभन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति –प्लानिङ पर्मिट दिएको थियो ।’
अब प्रश्न उठ्छ, ७२ सालमै काठमाडौं टावर १२ तल्लाभन्दा अग्लो हुने गरी काठमाडौं उपत्यका विकास प्राधिकरणले रोक्छ भने हिल्टनलाई चाहिँ १६ तल्ला बनाउन दिने गरी ७३ सालमा आएर कसरी नक्सा स्वीकृत हुन्छ त ?
काठमाडौं टावरको हकमा फार अर्थात फ्लोर एरिया रेसियो ३ दशलव ५ सम्म हुन सक्ने उल्लेख गरिएको छ । एफ ए आर – फारलाई उदाहरणसहित सरल शब्दमा बुझौं ।
मानौं ः १२ सय वर्ग फिटको एउटा जमिनको टुक्रा छ । यो जमिनमा तीन तल्लाको भवन बनाइयो । प्रत्येक तल्लाको क्षेत्रफल मानौ ६५० वर्गफिट छ भने तीन तल्ला भवनको कुल क्षेत्रफल १९ सय ५० वर्ग फिट हुन्छ ।
अब यस्तो अवस्थामा १९ सय ५० वर्ग फिटलाई जमिनको क्षेत्रफलले भाग गर्दा जति भाग फल आउँछ, त्यही नै फार हुन्छ । यो उदाहरणमा फार हुन आउँछ १ दशमलव ६२५ ।
जसरी यहाँ फारको १ दशमलव ६२५ निस्कियो ठिक यसै गरी काठमाडौं टावरको फार २ दशमलव ४१ भन्दा बढी माथि जान नमिल्ने भनेर प्राधिकरणले भनेको थियो ।
यदि काठमाडौं टावरको फार २ दशमवल ४१ भन्दा माथि जान नमिल्ने हो भने यहि मितिभन्दा पछि निर्माण सुरु भएको हिल्टन होटलको फार चाहिँ ३ दशमलव ४१ सम्म बनाइयो त ?
महानगरका अनुसार हिल्टन होटलले चर्चेको जमिनको क्षेत्रफल – ४ हजार ९ सय ४४ दशमलव एक पाँच वर्गमिटर हो । तर फिल्डमा ५४ वर्गमिटर जति जमिन बढी छ ।
यो हिसाबले हिल्टनले १५ हजार ७४४ वर्गमिटर क्षेत्रफलसम्मको भवन निर्माण गर्न पाउँछ । तर हिल्टन होटल १९ हजार ५२८ दशमलव ३१ वर्गमिटरमा फैलिएको छ । हिल्टनको जमिन मुनी भएको संरचनामा फार गणना नहुने भनिएको छ । यो कुरामा पनि कैफियत नै देखिन्छ । किनभने काठमाडौं टावरको हकमा जमिन मुनीको संरचनामा फार गणना गरिएको छ ।
काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड २०७५ र भवन निर्माण मापदण्ड २०८० अनुसार हिल्टनले पाउने फार ३ दशमलव ५ सम्म हो भनिएको छ ।
- यदि हिल्टनले फार ३ दशअलव ५ पाउँछ भने यो नियम काठमाडौं टावरको हकमा किन लागू नहुने ?
- काठमाडौं टावरलाई काठमाडौं उपत्यका विकास प्राधिकरणले १९ तलासम्म जान दिएन । उसलाई १२ तल्लामै सिमित हुनु भन्यो ।
- तर, हिल्टन होटलको हकमा १६ तल्लासम्म जाने अनुमति चाहिँ प्राधिकरणले दियो । यस्तो अनुमति ७२ साल भदौ १६ मै दिएको देखिन्छ ।
७६ सालमा आएर हिल्टनले आफ्नो नक्सा संशोधन गरेर फेरि महानगर लग्यो । त्यो बेला भवनको कुल क्षेत्रफल १७ हजार ८२५ दशमलव शुन्य पाँच वर्गमीटर हुने भन्यो । सोही बमोजिम महानगरले भवन निर्माण अनुमति दियो । तर अहिले भवनको कुल क्षेत्रफल १९ हजार ५२८ दशमलव तीन एक वर्गमिटर छ । हिल्टनले महानगरसँग लिएको अनुमतिभन्दा केही बढी भवनको क्षेत्रफल देखिन्छ ।
हिल्टनमा २०८१ सालदेखि के भयो ?
- हिल्टनको नक्सा र भवनमा देखिएको यस्तो विसंगतिको अन्तिम परीक्षण निर्माण सम्पन्न भएपछि हुनु पर्ने थियो ।
- हिल्टन होटलका तर्फबाट जब २०८१ साल असोजमा फाइल महानगर पुग्यो, त्यो बेला प्रमुख प्रशासकीय अधिकृतका रुपमा यिनै सरोजप्रसाद गुरागाईं थिए ।
- गुरागाईंले नै असोज ११ गते निर्माण पूरा भएको प्रमाण पत्र हिल्टन होटलका साहुहरुको हातमा थमाइ दिए ।
यहि त्रुटिपूर्ण मामिलामा अहिले मेयर बालेन साहले भनेका छन् – हिल्टन होटलको नक्साबारे अनुसन्धान हुँदैछ ।
यसरी महानगरभित्र लफडानै लफडाको चाङ बढ्न थालेका छन् । हिल्टनको विषयमा महानगरले के, कस्ता एक्सन लिने हो ? के यहाँ आर्थिक चलखेल चरम भएको हो ? चलखेल हो भने यसभित्र कसले कतिहात मारे त ? यि विषय समयक्रमसँग खुल्ने देखिन्छ ।