काठमाडौँ । प्रतिनिधि सभाले भारतको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको निधनबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएको छ ।
सभाको सोमवारको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा नेपाली विद्यार्थीको मृत्युको विषयमा आवाज उठाएका थिए ।
सभामुख घिमिरेले केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी साहको निधनबारे सांसदहरूले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले उज्यालो भविष्यको सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न रहेको जिकिर गरे । उनले सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देशन दिएका हुन् ।
उनले भने, “भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे माननीय सदस्यहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ । उज्यालो भविष्यको सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को मृत्युको घटना, राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु ।”
सभामुख घिमिरेले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा गर्न/गराउन आवश्यक व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिएका छन् ।