News 24 Television
प्रचण्डको टिप्पणी– 'दुई तिहाइको अहङ्कारको बेलुन फुटिसक्यो'

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गरेका हुन् । प्रतिनिधि सभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देखेको टिप्पणी गरे । उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताए । वर्तमान सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाए ।

उनले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राखे । हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको पनि बताए ।

उनले भने, “यो दश महिनामा सरकार सुध्रिएन । सरकार सुध्रिन चाहेन । किनभने सरकार सुध्रिनको लागि गठन भएको नै थिएन । एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको थियो । मैले त्यति बेला यो भनिरहेका सत्ता बहिर्गमनको छटपटी भनेर टिप्पणी पनि गरियो । तर अहिले त्यो तपाईंहरूको भाष्य बनिसकेको छ । सरकार सञ्चालनका संयन्त्रका सदस्यहरूले समेत प्रधानमन्त्रीको बेड रुमसम्मै को पुग्छन् भन्ने सार्वजनिक गरेबाट यो कुरा प्रस्ट भएको छ । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन तपाईंहरूले । दुई तिहाइको अहङ्कार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु । हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह नै हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ ।”  

अध्यक्ष दाहालले सरकार बनेको १० महिना बितिसक्दा पनि लोकका अगाडी गरिएको ७ बुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update