काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए । बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर विरोध जनाएका थिए ।
विरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरे । तर संसदमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेपछि केही बेर बैठक अवरुद्ध भयाे । अहिले बैठक अघि बढेकाे छ ।
त्यसअघि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेकी थिइन् । लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको उनको भनाइ छ ।
यही वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारीले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी करिव पाँच घण्टा डिल्लीबजार कारागारमा राखेको थियो । उक्त पत्र लेख्ने कर्मचारी विष्टलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठले चौधरीको गिरफ्तारी संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमाथि चोट भएको टिप्पणी गर्दै सरकारले घटनाको गहिरो अध्ययन गर्न र सार्वजनिक रूपमा जवाफ दिन आग्रह गरिन् ।