
काठमाडौँ । नेपाली कांग्रेसले एक चीन नीतिप्रतिको प्रतिबद्धता पुनः व्यक्त गरेको छ । दुई मुलुकबीचको सम्बन्ध विस्तारका साथै आपसी भ्रमण आदानप्रदान गर्नुपर्नेमा जोड दिएको कांग्रेसले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई समेत जोड दिएको देखिन्छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष चलिरहेको छ । यही अवसरमा गिरिजाप्रसाद कोइरालाको नाममा खुलेको जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा एक कार्यक्रम गर्यो । जसमा थिए, चिनियाँ राजदूत छन सोङ, कांग्रेस सभापति शेरबहादुर देउवा, शेखर कोइराला, सुजाता कोइराला लगायत । उनीहरुले नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे चर्चा गरे र चिनियाँ कम्युनिस्ट पार्टीसंगको सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए । यस्तोमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपाली भूमी चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
कांग्रेसले यस्तो जिकिर गर्दै गर्दा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे बोले र दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने काममा लागिरहने जिकिर गरे ।
उसोतः कार्यक्रममा नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भए । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले पनि एक चीन नीतिप्रति प्रतिबद्धता व्यक्त गरिन् । चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध स्थापनामा नयाँपनको आकार दिनुपर्नेमा जोड दिइन् ।
दुई देशको सम्बन्ध स्थिर अवस्थामा छ । चीनले विरलै मात्रामा प्रतिक्रिया दिने गर्छ । यस्तोमा कांग्रेस नेता शेखर कोइरालाले पनि सम्बन्ध विस्तारका कामहरु गर्नुपर्नेमै जोड दिए ।
नेपाल–चीन सम्बन्धमा प्राय कम्युनिस्ट पार्टीका नेताहरुले नै जोडबल गर्ने गरेका छन्। कांग्रेससंग औपचारिक सम्बन्ध भएपनि चिनियाँ कम्युनिस्ट पार्टीले समेत खास धेरै जोड दिने गरेको देखिन्न । तर, पछिल्लो समय कांग्रेसले पनि जोडतोडका साथ चीनसँगको सम्बन्धलाई विस्तार गर्ने रणनीति लिएको देखिन्छ । उसोतः चीन पनि बलियो र स्थिर शक्तिसंगको सम्बन्ध विस्तार गर्दै आफ्नो प्रभाव छाड्न चाहन्छ । अहिलेको चीन विचारको निर्यातभन्दा पनि वस्तुको निर्यातमै केन्द्रित रहेकाले चिनियाँ चासो र कुटनीति समेत केहि बदलिएको छ । यद्यपी दुई देशको सम्बन्धको विषयमा कांग्रेसले पनि सहकार्यको बाटोलाई खुला राख्नुले कुटनीतिक रुपमा केहि सन्देश भने पक्कै दिनेछ ।