काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गरेका छन् । उनले इंगित गरेका ती कर्मचारी हुन्– विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ । सरकारले घिसिङलाई हटाएपछि प्रमुख प्रतिपक्षी नेता प्रचण्डको मुटुमै गोली लागेजस्तो भएको भट्टराईको टिप्पणी छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भोल्दै भट्टराईले प्रचण्डलाई आफू शिशाको घरमा बसेर अरुतिर ढुंगा नहान्न चेतावनी समेत दिए । सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने भन्दै उनले विगतको रुक्माङ्गत कटवाल काण्ड सम्झाए । सांसद भट्टराईले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले तत्कालीन प्रधानसेनापति कटवाललाई हटाएको स्मरण गराएका हुन् । साथै प्रचण्ड सरकाले मुख्यसचिव हटाएको समेत स्मरण गराउँदै हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद खडा गरेको आरोप समेत लगाए । प्रधानसेनापति र मुख्यसचिव हटाउनेलाई अहिले सहसचिवस्तरको एक कर्मचारी (कुलमान) हटाउँदा मुटुमै गोली लागेको जस्तो किन भइरहेको छ ? भन्दै उनले प्रश्न गरे ।
भट्टराईले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो । त्यो एउटा सरकारको अविशिष्ट अधिकार पनि हो । कर्मचारी सरकारको मातहत हुन्छ । त्यसमा समिक्षा गर्न सकिन्छ । म कमरेड प्रचण्डलाई भन्न चाहान्छु तपाईले त प्रधानसेनापतिलाई नै हटाउनु भयो । एकपल्ट सीम्झनु त । एकचोटि सम्झिनु त अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । तर एउटा हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो । अनि को अर्को मुख्यसचिव ल्याउनुभएको थियो तपाईले ? अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता र मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ ।’
उनले सरकार र कर्मचारीबीच ‘ट्युनिङ’ नमिल्दा गरिएको व्यवस्थापनलाई अस्वाभाविक रुपमा नहेर्न आग्रह गरे ।