
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारेका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा खुलाएका हुन् ।
राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाइ छ । प्रधानमन्त्री ओली गभर्नर काँग्रेसलाई दिने पक्षमा रहेको बताउँदै देउवाले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गरे । उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत उनले बताए ।
देउवाले भने, ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर काँग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’
वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेत सँगै लैजाने नीतिअनुरुप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।