News 24 Television
सत्तापक्ष नै सरकारमाथि खनियो, प्रतिशोधले नेतामाथि प्रहार !

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल विवाद र आलोचनामा तानिएको छ । अहिले प्रतिपक्षीले स्वर चर्कोमात्रै गरिरहेका छैनन्, सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको भन्दै आरोप लगाइरहेका छन् ।

यो परिस्थितिले के सरकारले राजनीतिक आवद्धताको आधारमा पक्षधरता देखाउन थालेको हो त भन्ने प्रश्न बलियो बनाएको छ । 

राजनीतिक दलहरुबीच राजनीतिक रुपमा अनेक तानातान चलिरहेको छ । सरकारले राजनीतिक रुपमा प्रतिपक्षीमाथि प्रतिशोध साँधेको आरोप लागिरहेको छ भने राजनीतिक स्थिरताको पक्षमा सरकार नदेखिएको आरोप समेत लागिरहेको छ । 

यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  मनिष झाले प्रतिनिधिसभा बैठकमै सरकारले प्रतिपक्षी दलका शीर्ष नेतामाथि छानिछानि प्रतिशोध साँध्न खोजेको आरोप लगाए । 

अन्य दलका शीर्ष नेताहरुले समेत यसरी नै आरोप लगाउन थालेका छन् । माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पनि सरकार अत्यन्तै गैरजिम्मेवार बनिरहेको भनिरहेका  छन् । 

प्रतिपक्षी दलका नेताहरुले यस्तो आरोप लगाउदै गर्दा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरण पनि तातिएको छ । रेशमलाई पक्राउ गरिएको विषयमा नाउपा र जनमत पार्टीले संयुक्त रुपमा विरोध जनाएका छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पनि यो विषयमा बोलेकी छन् । 

उसोतः उनीहरुले रेशमको पक्राउबारे सरकारले जानकारी दिनुपर्ने भन्दै संसद अवरोध गरिरहेका छन् । नाउपा र जनमतले सरकारबाट जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरिरहे । 

दुई पार्टीले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सरकारको तर्फबाट २५ गते गृहमन्त्री रमेश लेखकले जवाफ दिने संसदलाई जानकारी गराए । 

यसरी विवाद र चर्चा चलिरहेको बेला एमाले भने अर्कै लयमा देखिन्छ । एमाले सांसद योगेश भट्टराईले प्रचण्डमाथि आक्रोश पोखे । प्रचण्डले कुलमानको पक्षमा उठाएको आवाजलाई योगेशले कटाक्ष मात्रै गरेनन्, प्रधानसेनापति हटाउनेले सहसचिव हटाउदा मुटुमै गोली लागेको जस्तो गर्ने भन्दै प्रश्न गरे । 

योगेशले कसरी यस्तो प्रश्न गरे भन्ने विषय भने रहस्यको गर्भमै देखिन्छ । प्रचण्डले सरकारले कुलमानमाथि विचौलियाको दबाबमा ह्यारेसमेन्ट गर्दै हटाएको जिकिर गरेका थिए । तर, योगेशले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको नजिक बन्ने प्रयास तीब्र पारिरहे । 

उसोतः पछिल्लो समय १० भाईमध्येका रघुजी पन्तले शिक्षामन्त्रीको जिम्मेवारी पाउनुअघि ओलीको प्रसंशा यसरी नै गर्ने गर्थे  भने योगेशले पनि यहि बाटो ;पछ्याउने गरेका छन् । यसरी राजनीतिक रुपमा प्रतिशोध र विवादित दृश्यहरु व्याप्त बन्दा अबको संसद कसरी अघि बढला ? प्रश्न र चासो बढेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update