News 24 Television
‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प भएको बताएका छन् । बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेको बताए । नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् भन्नका लागि रोग लाग्ने परिस्थिति र अवस्था आउनै नदिने अवस्था बनाउन जरुरी रहेको उनकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिनको लागि सन्तुलित खानपिन पनि एउटा महत्वपूर्ण विषय रहेको बताए । उनले रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्ने कुराको खोजी गर्न जरुरी रहेको बताए । उनले आयुर्वेदिक उपचार धेरै राम्रो हुने भए पनि पछिल्लो समय कमी हुँदै गएको गुनासो गरे ।

ओलीले भने, ‘जुन पनि रोग लाग्छ, त्यसलाई निको पार्नसक्ने कुरा प्रकृतिमै निहित छ  । औषधि पनि प्रकृतिमा निहित छ । खानामै निहित छ । यो खालि पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग लाग्छ र कुन चिजबाट यो रोगको अन्त्य हुन्छ । यसको प्रयोग परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढंगले निवारणको उपाय पत्ता लागेको छ । तर आयुर्वेद यसमा इफेक्टिभ छ र उहिलेदेखि आयुर्वेदको पनि सहारा लिने गरेको थियो । अहिले अलिकति कमजोर भएको छ । यसलाई ट्रेडिसनल र आयुर्वेदिक औषधि विज्ञानको प्रोसेसलाई पनि विकास गर्दै, रिसर्च गर्दै उपचार विधिमा जान जरुरी छ । हामी निरोगी नेपालको महासंकल्पमा छौँ । निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प हो । हामी सिंगै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौँ । पहिलो कुराः नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति, अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य अवस्था कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । मान्छेको इम्युन सिस्टम नै कमजोर नहोस्, यसका निम्ति प्रयास गरौँ । खानपिनः पेट भर्ने मात्रै होइन, सन्तुलित खानपिन । र स्वास्थ्यका लागि उपयोगी, लाभदायी खानपिन हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले कुष्ठरोगलाई नलुकाई समयमै उपचार गर्न आग्रह समेत गरे  ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update