News 24 Television
अब दश महिनामै सरकार फेरिँदैन : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । 

बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना  तथा  द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताए । विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने बताए । उहाँले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन-चार वटा अरु पनि कट्ने बताइएका हुन् । 

गृहमन्त्री लेखकले भने, ‘म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन कि पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो । त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दशै महिनामा सरकार फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरु व्यहोर्छौं । त्यसो भएको हुनोले १० महिना धेरै भएन ।’

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताए । उनले कानूनको अपूर्णताका कारण कामहरु अवरुद्ध भएको बताए । ९ महिना यताको समयमा आफूहरुले कानूनलाई पूर्णता दिएको पनि दाबी गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update