
काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशकै साझा रोग भएको बताएका छन् । यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको साथ र सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ ।
बिहीवार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे । भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ ।
आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत उनले बताए । उनले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताए ।
सांसद गैरेले भने, ‘नीति तथा कार्यक्रमले शिक्षा विधेयक, निजामति विधेयक, प्रहरीसँग सम्ब्न्धित विधेयक लगायतका विधेयकहरु यसै अधिवेशनबाट पारित गर्ने जुन प्रतिबद्धता व्यक्त गरेको छ त्यो ज्यादै सकारात्मक पक्ष हो । आज भ्रष्टाचार र कमिसनको विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखाप¥यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो । यसको अन्त्य गर्नको लागि हामी सबैको सामुहिक प्रतिबद्धताको खाँचो छ ।’
सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरुको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।