
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिएको हो । संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताए । उनले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई पूर्वाग्रह बिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए । राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधान विरोधि भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्याउन चेतावनी दिए ।
उनले भने, ‘गत चैत्र १५ गतेको दिन काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकहरुबाट आयोजना गरेको प्रदर्शनका क्रममा भएको विध्वंसात्मक घटनालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिएको छ । यस विषयमा संसदमा तत्काल विषयवस्तर प्रश्तुत गर्ने समय नरहेको र सदन अन्त्यतर्फ रहेको हुनाले प्रतिनिधि सभाका सम्मानित समितिहरुमा मैले सरकारको धारणा, गृह मन्त्रालयको धारणा र मेरो व्यक्तिगत धारणा राखिसकेको व्यहोरा जानकारी गराउँदछु । यस घटनाका सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको, घटना संलग्नहरुलाई नियन्त्रणमा लिई बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको व्यहोरा जानकारी गराउँदछु । यो घट्ना विध्वंसात्मक र संविधान विरोधि थियो । अहिलेका व्यवस्थाका विरुद्धमा थियो । संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकमा सुरक्षाको प्रत्याभुति दिलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाद उपयोग गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ । वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने कुनैपनि गतिविधि वा क्रियाकलापहरु सह्य हुने छैनन् ।’
सांसदहरुद्वारा सदनमा उठाइएका विषयहरुप्रति सरकार गम्भीर र सचेत रहेको पनि मन्त्री लेखकको भनाइ छ ।