News 24 Television
देव गुरुङ भारत र जनार्दन पाकिस्तान पक्षधर, प्रचण्ड कता ?   

काठमाडौं । भारत–पाकिस्तान युद्ध चर्किँदै गर्दा नेपाल सरकारको आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक भएको छैन । बरु सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरुले फरफ फरक मत दर्ज गरेका छन् । 

भारत–पाकिस्तान युद्धबारे सरकारको आधिकारिक धारणा मागेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरुबीच पनि भिन्न मत आइरहेका छन् । 

जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच चर्किएको तनाव युद्धमै परिणत भएको छ । पहलगाम हमलाको १५ दिनपछि भारतले पाकिस्तानमाथि क्षेप्यास्त्र प्रहार गरी युद्ध शुरु गरेको हो । 

दुई देशबीचको युद्ध चर्किँदा विश्व जगतलाई नै तरंगित बनाएको छ । तर छिमेकी मुलुक भारत र पाकिस्तानबीचको युद्ध चर्किँदा पनि नेपालले पनि कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । यसअघि पहलगाम हमला लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादी हमलाको भत्र्सना गरेका थिए । तर यहि घटनालाई लिएर दुई देशबीच युद्ध चर्किँदा सरकारको तर्फबाट स्पष्ट धारणा आउनुपर्ने माग संसदमा पनि उठेको छ । 

भारत पाकिस्तान युद्धको प्रभाव छिमेकी मुुलुकको हैसियतमा नेपाल सरकारको आधिकारिक धारणा मागेको माओवादी केन्द्रले पनि औपचारिक रुपमा मुख खोलेको छैन । तर माओवादी केन्द्रका जिम्मेवार नेताहरुले भिन्न भिन्न मत जाहेर गर्न थालेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भारतले पाकिस्तानमाथि गरेको हमलाको विरोध गरेका छन् । योसँगै उनले स्वतन्त्र प्रकारको अन्तर्राष्ट्रिय आयोग गठन गरि पहलगाम हत्याकाण्डको छानबिन गरिनुपर्नेमा जोड दिएका छन् । 

भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाई मार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दुखद विषय हो । भारतले आक्रमणको कारण केहिदिन अगाडि कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ । 

निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नै पर्छ । तर उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टी भएको देखिदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिदैन । – गुरुङले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

माओवादी केन्द्रका महासचिव गुरुङले त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनु पर्नेमा जोड दिएका छन् । 

तर माओवादी केन्द्रकै उपमहासचिव जनार्दन शर्माले भने गुरुङको भन्दा ठीक विपरित अभिब्यक्ति दिएका छन् । उनले भारतले पाकिस्तान माथि थालेको हमलालाई जायज भनेका छन् । 

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर“ सञ्चालन गरेको छ । 

आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।

माओवादीभित्रै संशय 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका दुई जिम्मेवार नेताले अन्तर्राष्ट्रिय गम्भीर अवस्थाबारे दिएको अभिब्यक्तिले राष्ट्रिय राजनीतिमै खलल पुग्ने देखिएको छ । यसले भूराजनीतिक अवस्थाबारे माओवादी केन्द्रको गैरजिम्मेवारीपन स्पष्ट झल्किएको छ । तत्कालिन माओवादीले दश वर्षसम्म नेपालमा सशस्त्र संघर्ष चर्काउँदा १७ हजार बढीले ज्यान गुमाएका छन् । 

जतिबेला माओवादीलाई नेपाल सरकारले पनि आतंकवादीको विल्ला लगाएको थियो । विगतमा सशस्त्र युद्ध गरेको माओवादी नेताले अर्को देशमाथिको हमलालाई विना हिच्किचाहट स्वागत गर्नुलाई निकै अर्थपूर्ण मानिएको छ ।

आतंकवादलाई परास्त गर्न भारतसँग सहकार्य गर्नुपर्ने शर्माको अभिब्यक्तिले माओवादी पार्टी पंक्तिलाई नै तरंगित बनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update