News 24 Television
जेठ १५ मा अर्को धक्का दिने तयारी, अनिश्चितकालिन आन्दोलन घोषणा

काठमाडौं । विभिन्नसमूहमा विभाजित राजावादी शक्तिहरु अन्ततः एकढिक्का भएर राज्य ब्यवस्थाविरुद्ध संघर्षमा होमिएका छन् । विभिन्न ६ राजावादी शक्तिले राजसंस्था पुर्नवहालीका लागि निर्णायक आन्दोलनको घोषणा गरेका हुन् । 

नवराज सुवेदी संयोजक रहेको राजसंस्था फर्काउने अभियानको नेतृत्वमा उनीहरुले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन चर्काउने उद्घोष गरेका हुन् । 

सत्तास्वार्थमा रमाइरहेका राजावादी दलदेखि पूर्वपञ्चहरुको आन्दोलन कसरी अगाडि बढ्दै छ त ?राष्ट्रिय राजनीतिमा राजावादी आन्दोलन तितरवितर भइरहेको विश्लेषण भइरहेका बेला सबै राजावादी दलहरुदेखि पूर्वपञ्चहरु एक साथ शक्ति संघर्षमा उत्रिने भएका छन् । चैत १५ को तीनकुने आन्दोलनको झल्को दिनगरी जेठ १५ मा देशभरका राजावादी शक्तिहरु संयुक्त अनिश्चितकालिन आन्दोलन उत्रिने भएका हुन् ।

विहिबार नवराज सुवेदी संयोजक रहेको संयुक्त जनआन्दोलन समितीमा गोलबद्ध भएका ६ राजावादी शक्तिले बृहत आन्दोलनको घोषणा गरेका छन् । घोषणासभामा राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसहित शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्चका प्रतिनिधिहरु सहभागी थिए । 

राजावादीहरुको यो आन्दोलनमा बीपी कांग्रेस समेत मिसिएको छ । कांग्रेसको एउटा हिस्सा नै आफूहरुसँगै भएपछि राजावादीहरु अझ उस्साहित छन् । संघीय राजधानी काठमाडौँको सुकेधारास्थित एक होटलमा विहीबार पत्रकार सम्मेलन गर्दा दलबलसहित उपस्थित भएका थिए । वडा, नगर र केन्द्रबाट एक साथ सुरु हुने आन्दोलनले राजसस्था र हिन्दुराज्य स्थापना नहुन्जेल आन्दोलन गर्ने दाबी राजावादीहरुको छ । 

तीन बुँदामा राजावादीहरुको प्रतिवद्धता 

राजावादीहरुले संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्रको स्थापना र दुई तहको सरकार गरी मुख्यतः तीन बुँदामा प्रतिवद्धता व्यक्त गरेका छन् । खासगरी, परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारको बचिमा  सामान्जस्यता कायम गर्दै सबै विचारधारा र शक्तिहरु अटाउनेगरी संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र स्थापना गर्ने कुरामा राजावादी सबै शक्तिहरु एक मत छन् ।केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यता अनुरुप अहिले भन्दा बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुईतहको सरकारको अवधारणा उनीहरुले अघि सारेका छन् । संयोजक सुवेदीको जनआन्दोलनमा होमिएका सबै राजावादी नेताहरुको गोलबद्धताले नयाँ आशाको सञ्चार गरेको उनीहरुको भनाई छ । त्यसैले राजसंस्था र हिन्दुराज्य स्थापना नहुँन्जेल आन्दोलन नरोकिने उनीहरुले दाबी गरेका छन् । 

राष्ट्रिय राजनीतिमा गणतन्त्रवादी नेताहरु सत्ता उलटफेरको चर्चामा व्यस्त बनेका बेला राजावादी बृहत आन्दोलनको घोषणा गरेका हुन् । यसले पुनः गणतन्त्रवादी नेताहरु माथि दबाब बढेको छ ।यसअघि राजावादी बढ्दो सहभागिता देखेर गणतन्त्रवादी नेताहरुले खतराको महसुस समेत गरेका थिए । 

माओवादी अध्यक्ष पुष्पकमल दाहालको सक्रियतामा बनेको चार दलीय समाजवादी मोर्चाले चैत १५ कै दिन काठमाडौँमा गणतन्त्रको रक्षार्थ जनसभा नै गरेको थियो । चैत १५ को घटनापछि राजावादी शक्तिहरु कमजोर बनेको सत्तारुढ दल नेकपा एमाले सचिवालय बैठकले निश्कर्ष नै निकालेको थियो । राजावादी शक्तिको चाहना पुरा नहुने भन्दै प्रधानमन्त्री ओलीले आक्रामक टिप्पणी दिँदै आएका छन् । 

यसअघि नवराज सुवेनदी संयोजक रहेको संयुक्त जनआन्दोलन समितिको योजना अनुसार तीनकुने आन्दोलन चर्किएको थियो । तीनकुने आन्दोलनको कमाण्डर बनेका दुर्गा प्रसाईले अन्धाधुन्धा सुरक्षा घेरी तोड्न खोजेपछि हिंसा भड्किएको थियो । आन्दोलन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाउन परेको थियो । 

त्यसपछि सरकारले उक्त आन्दोलनका कमाण्डर प्रसाई, राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सहित सयौँ नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यसयता राजावादी शक्ति छिन्नभिन्न जस्तै बनेका थिए । के अब राजावादी शक्तिहरुसाच्चिकै एकताको सुत्रमा बाँधिन पुगेका हुन् त ? त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update