News 24 Television
श्रमिकहरू ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले भोगिरहेका समस्याको समाधान गर्न सरकार लागिपरेको बताएका छन् । 

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहको मन्त्री भण्डारीको भनाइ छ ।

उनले परिवार र समाजको अपेक्षा, ऋणको चाप र कामको दबाबले श्रमिकहरु डिप्रेसनको शिकार बन्ने र आत्महत्या गर्ने क्रम समेत बढेको बताए । उनले वैदेशिक रोजगारीका लागि लिइने चर्को ऋणले कामदारहरूलाई आर्थिक चक्रव्युहमा फसाउने गरेको बताए ।

उनले भने, ‘नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा तीनवटा ट्र्याप छ भन्ने गरेको छु । एउटा डेथ ट्र्याप छ, डिजिटल ट्र्याप छ र डेप्थ ट्र्याप छ । यसलाई हटाउनको लागि हामी काम गर्दैछौं । डेथ ट्र्यापमा १६ वर्षमा १४ हजार मान्छे मारिए । हाम्रा मानिसहरु त्यहाँ लड्न गएको हो त ? होइन नि । अब त्यो हो भने कँही न कँही त समस्या छ । मुख्य समस्या स्वास्थ्य र ऋणको समस्या छ । ऋण तिर्नको लागि राम्रो काम गर्न सकेर मान्छे डिप्रेसनमा गएर दिवंगत हुन्छ ।’

सरकारले वैदेशशिक रोजगारीको नीतिगत सुधार गर्दै म्यानपावर कम्पनीमाथि कडा निगरानी र कामदारहरूको स्वास्थ्य तथा मानसिक समस्यामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको दाबी गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update