News 24 Television
भैरहवा विमानस्थलले विल्लिबाँठ ! आत्महत्यासम्मको नैराश्यता !

रुपन्देही । पछिल्लो समय भैरहवा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थललाई लक्षित गरि गरिएको अर्बौँ बराबरको लगानी डुब्न लागेको भन्दै निजी क्षेत्र आन्दोलित छ । व्यवसायीले कहिले धर्ना त कहिले विमानस्थल सञ्चालनबारे छलफल कार्यक्रम गरिरहेका छन्् । व्यवसायीले तत्काल विमानस्थल नचले आफूहरु उठ्नै नसक्ने गरि पलायन हुने जोखिममा पुगेको बताउँदै आएका छन् । तर, सरकारले यस समस्याको समाधानबारे खास चासो दिएको देखिदैन । 

कहिले आन्दोलन, कहिले धर्ना त कहिले विरोधका अनेक गतिविधि भैरहवा गौतमबुद्ध विमानस्थलमा भइनै रहेका छन् । निजी क्षेत्र डामाडोल हुँदैगर्दा पनि सरकारले विमानस्थललाई व्यवस्थित र व्यवसायीक बनाउन ध्यान नदिएपछि प्राय अशान्त देखिन्छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । 

अर्बौं रुपैयाँ खर्चेर निर्माण गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष भइसक्दा पनि पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन । सुरुमा उडान भरेका एयरलाइन्सले समेत भैरहवाबाट उडान स्थगित गर्दा अहिले विमानस्थल अन्तर्राष्ट्रिय विजनेशबिहीन छ । 

व्यवसायीले कहिले धर्ना त कहिले छलफल कार्यक्रम गर्दै विमानस्थल संचालनबारे दवाव दिइरहेका छन् ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमता संचालनबारे छलफलमा उद्योगी व्यवसायीले विमानस्थल नचल्दा निजी क्षेत्रको लगानी डुब्न लागेको, सरकारले आफै घोषणा गरेका कार्यालय समेत स्थापना नगर्दा उडान गरिरहेका एयरलाइन्सहरु पनि काठमाडौं केन्द्रित भएको गुनासो गर्दैआएका छन् ।

अझैपनि विमानस्थल संचालन नहुने हो भने कैयौं व्यवसायीले आत्महत्या गर्न बाध्य हुनेसम्मको अवस्था आउनेतर्फ सरकारलाई सचेत समेत गराइएको छ । 

हुनत यस विमानस्थलबारे नेताहरुबीच राम्रै चर्चा हुने गर्छ । तर, समाधान कहिलेइ निकिस्दैन । कहिले विमानस्थलमा चलखेलका आरोप छरपष्ट हुन्छन् त कहिले भ्रष्टाचारका घटना लुकेका भन्दै चर्चा हुने गर्छन् । आरोप–प्रत्यारोपको क्रम चलिनै रहेको छ । 

राप्रपाका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य राजेन्द्र  लिङ्देनकै कुरा सुन्नेहो भने उनी भनिरहेका छन्, रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको छ । ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको आरोप लगाएका छन् । 

उनले चार सय विघा जग्गा अधिग्रहण गर्दा  हुनेमा ८ सय विघा बढी अधिग्रहण गरी गौतमबुद्ध विमानस्थल भ्रष्टाचार भएको दावी गरेका छन् ।

लिङ्देनले सरकारले चाहे गौतमबुद्ध विमानस्थल संचालन हुनसक्ने तर पोखरामा न्यारोबडी जहाज समेत संचालनमा कठिनाइ हुनसक्ने बताइरहेका छन् । उनले नागरिकको टाउकोमा ऋण थोपरेर ४०\४१ अर्ब खर्च गरेर विमानस्थल बनाउने तर नचलाउनेको खोजी गर्नुपर्ने बताएका छन्  । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा २०७१ माघ १ मा निर्माण सुरु भई २०७९ जेठदेखि विमानस्थलबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । यो आयोजनाको सुरुवातमा ३० अर्ब ९१ करोडमा सम्झौता भएको थियो । तर निर्माण अवधि लम्बिएपछि ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । 

विमानस्थललाई लक्षित गरेर यसको दोब्बर निजी क्षेत्रबाट लगानी भएको छ । विमानस्थल उद्घाटनको लामो समयसम्म एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रका व्यवसायी चिन्तित छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update