News 24 Television
विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिन माग

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको बताए । उनले विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने धारणा राखे ।

अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’ प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए ।  सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । 

राउतले भने, ‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्दछ । यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन । विकास निर्माणका सबै कामहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ । उनीहरुसँग सहकार्य र समन्वय गर्ने होइन । त्यही भएर अब हामीले धेरै लोभ नगरेर विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्वन गर्नुपर्छ ।’ 

नागरिकमैत्री सेवा उपलब्ध गराउन सिंहदरबारले नसक्ने कुरा व्यवहारतः पुष्टि भइसकेको समेत उनको भनाइ छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update