News 24 Television
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष

काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  बजेट वक्तव्य जारी नहुँदै सत्तारुढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिने कुरा पनि आश्चर्य भएको थापाको भनाइ छ ।

बुधवारको सभाको बैठकमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणका लागि बजेट विनियोजन नगरिए बजेट पुस्तक च्यात्ने चेतावनी दिएका थिए । सांसद थापाले सत्तारुढ दलकै नेताहरुले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 

उनले भने, ‘नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्यरुहरु र भेट्रान नेताज्यहरुलाई सक्रिय देखिरहेको छैन । मलाई आश्चर्य लागेको छ । हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्युहरुले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन । यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ । यसअघिका तीन जना अर्थमन्त्रीहरु त्यही क्षेत्रबाट भन्नु भएको रहेछ ।  हामी नयाँ सांसदहरुलाई पुराना पाका र अग्रज सांसदहरुले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि ? आज के भन्न मन लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली निर्दलीय प्रधानमन्त्री होइन दुई ठूला राजनीतिक पार्टी र अन्य साना पार्टीको संयुक्त सरकारको प्रधानमन्त्री हुनुहुन्छ ।’

सत्तारुढ दलकै सांसदहरुले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update