
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गरे । उनले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताए । उनले जीवन र विश्व बचाउन शाहसी र एकीकृत दृष्टिकोण चाहिएको बताए। हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको पनि बताए ।
स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिए । जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरुसँग आह्वान गरे।
प्रधानमन्त्री ओलीले भने, ‘हामी हिमाललाई नबिर्सौं । विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन् । तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् । तिनैले पानीको भण्डारण गर्छन् । तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन् । जब हिमाल पग्लिन्छन् - उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् । जीवन विखण्डित हुन्छ । हिमालय-हाम्रो तेस्रो ध्रुव-विश्व औसतभन्दा छिटो तात्दैछ । हिमनदीहरू हराउँदैछन् । हिमतालहरू फैलिंदैछन् । तटीय क्षेत्रका करोडौं मानिसहरू-जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ । हिमालदेखि महासागरसम्मको सोच चाहिएको छ । हिमालहरू उपयुक्त सम्मानका हकदार हुन् । हामीले ध्यान दिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले साझा भविष्य जोगाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।