News 24 Television
हिमालहरूको हेरचाहमा नै मानवताको भविष्य निर्भर छ : वनमन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरे ।

उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए । हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभएर अनिवार्यताको विषय भएको बताए ।

जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएको उनकाे भनाइ छ । ढिलासुस्तीले विपत्तिलाई मात्र निम्तो दिने भन्दै वनमन्त्री ठकुरीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा उभिने समय भएको बताए ।

वनमन्त्री ठकुरीले भने, ‘आज हामीले हाम्रा हिमालहरूको हेरचाह कसरी गर्छौं भन्ने कुरामा मानवताको भविष्य निर्भर गर्दछ । हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली हो । अहिले यहाँ जे जति हिउँ पग्लन्छ त्यसले सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्दछ । हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय होइन । यो त पृथ्वीका लागि अनिवार्यता नै हो । यस निर्णायक घडीमा जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभएर हाम्रा लागि एक गहन नैतिक परीक्षा हो । विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्न अझै पनि सम्भव छ– तर सामूहिक, निर्णायक र द्रुत कार्यबाट मात्र । सगरमाथा संवाद केवल विचार विमर्शमात्र होइन । यसले कार्यलाई प्रज्वलित गर्नुपर्नेछ । समय बगिरहेको छ । ढिलासुस्तिले विपत्तिलाई मात्र निम्तो दिनेछ । हामीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा हामी उभिने बेला आएको छ । सगरमाथा र सबै हिमालहरूको रक्षा गरेर हामीले पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र होइन सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्नसक्छौं । सगरमाथाले हामीलाई यसको उचाइले मात्र नभई यसले प्रतिकात्मक रुपमा प्रश्तुत गर्ने भावनाले समेत प्रेरित गरोस् । एकसाथ रहेर हामी निर्णायक एवं समावेशी तवरले अविलम्व कार्य गरौं ।’

मन्त्री ठकुरीले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभइ सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update