News 24 Television
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

काठमाडौँ । राज्यविरुद्धको कसुरमा हिरासतमा राखिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

मिश्रको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि शुक्रबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो । उनलाई कानून व्यवसायीको जिम्मामा छोड्न आदेश गरिएको छ । 

आदेशपछि खोजेका बखत जिल्ला प्रहरी कार्यालय, काठमाडौँमा उपस्थित हुनेगरी मिश्रलाई कानुन व्यवसायीको जिम्मामा लगाएर हिरासतमुक्त गरिएको छ । 

गैरकानूनी थुनामा राखिएको भन्दै मिश्र पत्नी सारिका कार्कीले मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । शुक्रबार रवीन्द्रले न्यायाधीश सामु अब एक घण्टा पनि गैरकानूनी थुनामा नबस्ने भन्दै बयान दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update