News 24 Television
महानगरभित्रै एक्लिँदै बालेन, समर्थक घट्दा विरोधी बढ्दै

काठमाडौँ । देशको संघीय राजधानी समेत रहेको सबैभन्दा ठूलो महानगर काठमाडौं महानगर पछिल्लो समय लथालिङ्गको स्थितिमा पुगेको छ । कार्यसम्पादनमा जिल्लाभरकै सबैभन्दा कमजोर देखिएको काठमाडौं महानगरमा बेरुजु भने महानगरहरूमध्ये सबैभन्दा अघि रहेको छ । 

महालेखा परीक्षकको कार्यालयले गत बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा काठमाडौं महानगरमा ६८ करोड २ लाख बेरुजु रहेको देखिएको छ । त्यसमाथि मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको तनावले महानगरको प्रशासनिक काम महिनौँदेखि प्रभावित बन्दै आएको छ । नियमित कार्यतालिका अनुसार महानरको कार्यपालिकाको बैठक महिनामा एक पटक बस्नुपर्ने हो । विगतमा यो तालिका अनुसार नै कार्यपालिका बैठक बस्दै आएको थियो । तर, मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको टसलले पछिल्लो समय पाँच महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । 

काठमाडौं महानगरका मेयर बालेन शाहको नेतृत्वले एकातिर सकारात्मक परिवर्तनको आशा जगाएको छ भने अर्कोतिर उनको एकलौटी शैलीले सहयोगीहरूलाई टाढा धकेल्दै छ । सुरु–सुरुमा उनको जोश, युवा नेतृत्व र परम्परागत राजनीतिबाट अलग रहेर काम गर्ने शैलीले व्यापक समर्थन पाएको थियो । तर, पछिल्लो मेयर शाह आफ्नै कार्यशैलीले महानगरभित्रै एक्लिँदै गएका छन् । उनको कार्यशैली, एकलौटी निर्णय र सहकार्यको अभावले उपमेयर, वडाध्यक्षहरू, कर्मचारी र स्थानीय व्यवसायीहरूसँगको सम्बन्धमा तिक्तता बढ्दै गएको छ । 

मेयर शाहले आफ्ना आलोचकहरूलाई चलाएको कारबाहीको दण्डले पनि त्यो स्पष्ट हुन्छ । उनले आफ्नो आलोचना गर्ने वडाध्यक्ष नवीन मानन्धरलाई प्रवक्ताबाट हटाएका छन् । गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गराउन मुख्य भूमिका खेलेका मानन्धरलाई हटाएर नयाँ प्रवक्तामा वडा नम्बर पाँचका वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई तोकिएको छ । 

गुरागाईंलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराउँदा मानन्धर अग्रमोर्चामा थिए । त्यसपछि उनले बालेनलाई तीन वर्षसम्म काँधमा हालेर बोके पनि अब नसकिने भन्दै कडा आलोचना गरेका थिए । 

बालेनले कार्यपालिका अन्तर्गत चार वटा समितिका संयोजकहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन् । बालेनले आफ्नो विरोधमा उत्रिने र प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उभिने वडाध्यक्षहरूलाई भूमिकाविहीन बनाएका छन् । 

नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम एक बमोजिम नयाँ संयोजक तोकिएको छ । जसअनुसार सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।

 अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् । रेजिना उपनिर्वाचनबाट विजयी रास्वपाकी नेतृ समेत हुन् । 

डंगोलसँग पनि तनाव उस्तै

मेयर बालेन र उपमेयर सुनिता डंगोलबीचको तिक्तता पनि उस्तै छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयरले रोक्न खोज्दा उपमेयर डंगोल, वडाध्यक्षहरू र कर्मचारीहरूको सहयोगमा गुरागाईं कार्यालय प्रवेश गर्न सफल भए । यो घटनाले मेयर र उपमेयरबीचको कार्यशैलीमा ठूलो मतभेद रहेको स्पष्ट देखाउँछ । उपमेयर सुनिताले स्टन्टले मात्रै देश नचल्ने भन्दै बालेनमाथि तीखो व्याङ्ग्य गर्ने गरेकी छन् । 

मेयरको कार्यशैलीलाई लिएर राजनीतिक दलहरूले समेत आफ्नो स्वार्थअनुसार व्याख्या गर्न थालेका छन् । कतिपयले उनलाई ‘राजावादी’को समर्थन प्राप्त भएको भन्दै विवादमा तान्ने प्रयास समेत गरेका थिए । तर, गत चैत १५ गतेको आन्दोलनमा राजावादीले जथाभावी फोहोरमैला गरेको र सडक छेउछाउका रुख, बिरुवा र रेलिङ तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई आठ लाख जरिवानका गरेका थिए । 

त्यसपछि उनी राजावादीहरुको निशानामा पनि पर्दै आएका छन् । जसले गर्दा उनको समर्थक घटेका छन् भने विरोधि बढेका छन् ।  मेयर शाहले आफ्नो नेतृत्वलाई कसरी अगाडि बढाउँछन् र यो विवादलाई कसरी समाधान गर्छन्, त्यो हेर्न बाँकी छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update