News 24 Television
सधैँ पद हस्तान्तरण मिति दोहोर्याइरहने ओली, कहिले र कहाँ–कहाँ के भने ?

काठमाडौँ । काँग्रेस र एमालेले सत्ता सहकार्य गर्दा देखि नै आधा–आधा कार्यकालको समझदारी गरेका थिए । हुनत विपक्षीले सुरुकै दिनदेखि काँग्रेस एमालेको सहकार्यमा शंका गर्दै पूरा कार्यकाल सरकार चल्न नसक्ने दावी गरेका थिए । यद्यपि सत्ता गठबन्धन टिकिरहेकै अवस्था छ । 

देउवालाई सत्ता हस्तान्तरणको आश्वसन देखाएर होस् वा राजनीतिक भागबण्डाहरु मिलाएरए भएपनि ओली गठबन्धन टिकाइरहन सफल छन् । तरपनि ओली भावि सहकार्य दीगो रहने भन्नेमा विश्वस्त देखिँदैनन् । किनकि ओली पटक–पटक देउवलाई सत्ता हस्तान्तरण गर्ने मिति सुनाउने गर्छन् । ओलीले पछिल्लो समय पनि हप्तैपिच्छे देउवलाई प्रधानमन्त्री दिने समझदारीमा आफू अडिग र सजक रहेको दावी गर्ने गरेका छन् । उनी पत्रकारहरुले सोधेको विषयमा होस् वा अन्य प्रशंगमै पनि देउवलाई समयमै पद हस्तान्तरण गर्ने जिकिर गर्छन् । 

गठबन्धनमा पटक पटक समस्या आएको चर्चा भइरहेपनि काँग्रेस र एमालेबीच असमझदारी भने देखिँदैन । जसले बाहिरी रुपमा एमाले र काँग्रेसको गठबन्धन ठिकठाक नै रहेको भन्न सकिन्छ । तर ओली आँफैले भने गठबन्धनमा समस्या नभएको भन्ने तर्कलाई निर्धक्क पुष्ट्याईँ गर्न सकेका छैनन् । किनकी ओली जुन तरिकाले गठबन्धनमा समस्या नभएको र देउवालाई समयमै सत्ता हस्तान्तरण गर्छु भनेर बारम्बार भन्छन् । यो नै गठबन्धनमा समस्या छ कि ? भन्ने आशंकालाई थप बढवा दिनु हो । जुन ओलीले नै गरिरहेका छन् । ओली पार्टीकै कार्यक्रममा होस् वा सदनमै पनि देउवालाई समयमै सत्ता हस्तान्तरण गर्ने विषय दोहोर्याइ रहन्छन् । यी अलावा पनि ओलीले देउवालाई पटक पटक सत्ता हस्तान्तरणको मिति सुनाएका दृष्टान्त छन् । 

ओलीले कहिले–कहिले गरे पद हस्तान्तरणको कुरा ? 

–    २०८१ साउन १५ गते : ओलीले सत्तामा आएको एक महिना नपुग्दै पहिलो पटक उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै दुई वर्ष पुग्नु एक हप्ता अगाडि नै राजीनामा दिने भने ।

–    २०८१ असोज ३० गते: ६९औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा पनि ओलीले २ वर्षमा सत्ता हस्तान्तरण गर्ने भने । 

–    २०८१ मंसिर ७ गते: एमालेको जागरण सभामा पनि ओलीले गठबन्धन ०८४ साल सम्म नै जाने भन्दै देउवालाई आश्वस्त पारेका थिए  ।

–    २०८१ मंसिर २० गते: चीनबाट स्वदेश फर्किएका वेला विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवालाई १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने दोहोर्याए ।

–    २०८१ माघ ३० गते: नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको उद्घाटनमा पनि ओलीले २०८३ असारमा राजीनामा दिने भने ।  

–    २०८१ फागुन ५ गते: लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै १७ महिनामा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । 

–    २०८१ फागुन २६ गते: सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्दै ओलीले देउवालाई सहमति अनुसार नै पद हस्तान्तरण गर्ने भने । 

–    २०८१ चैत २६ गते: पार्टीको सिरहा जिल्लाको ११औँ अधिवेशनको उद्घाटन सत्रमा पनि ओलीले १५ महिनापछि सत्ता हस्तान्तरण गर्ने भने ।

–    २०८२ वैशाख ९ गते: देउवा थाइल्यान्ड रहेको बेला समेत पूर्व सहमति अनुसार नै देउवालाई पद हस्तान्तरण गर्ने भने । 

–    २०८२ वैशाख १२ गते: संसद् भवन परिसरमा पत्रकारहरुलाई जवाफ दिँदै १४ महिनापछि राजीनामा दिने भने । 

–    २०८२ जेठ १ गते: पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै ओलीले देउवालाई १४ महिनापछि पद हस्तान्तरण गर्ने दोहो{याए । 

यसरी ओलीले प्रधानमन्त्री बनेको १० महिनाको अवधिमा मात्रै दर्जनभन्दा बढी पटक देउवालाई पद हस्तान्तरण गर्ने समय स्मरण गराएको विषय सामान्य देखिँदैन । काँग्रेसकै आडमा अडिएको ओली सरकारसँग सत्ता अड्याउन दोस्रो विकल्प देखिँदेन । जसका कारणले पनि सरकार लामो समयसम्म रहिरहने प्रष्ट आधार देखिँदैन  । 

ओलीका यी अभिव्यक्तिलाई काँग्रेससँगको सत्ता संसयसँग पनि जोड्न थालिएको छ । ओली र देउवाले सत्ता सहकार्य थालनी गर्दा विभिन्न ७ बुँदे सम्झौता गरेका थिए । तर उक्त सम्झौता अनुसारको ट्र्याकमा काँग्रेस–एमाले हिँड्न सकिरहेका छैनन् । पछिल्लो सयम पनि ओली र देउवाबीच गभर्नर नियुक्तिको सवालमा प्रष्ट समझदारी देखिँदैन । यी कारणहरुले पनि देउवा फकाउन ओलीले पटक–पटक पद हस्तान्तरण मितिको साहारा लिइरहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update