
काठमाडौं । सरकारले सगरमाथा संवादलाई औपचारिक रुपमा शुभारम्भ गर्दै जलवायु परिवर्तन र यसको हिमालसम्म परेको प्रभावबारे विमर्श जारी राखेको छ । संयुक्त राष्ट्रसंघका प्रमुखदेखि विभिन्न देशका प्रतिनिधिले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्ने जिकिर गरिरहेका छन् भने, मानव सभ्यताका लागि समेत मिलेर काम गर्नुको विकल्प नभएको आवश्यकता औल्याइरहेका छन् ।
शुक्रवारबाट काठमाडौंमा सगरमाथा संवाद औपचारिक रुपमा शुरु गरिएको छ । सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जलवायु संकटसंग सामूहिक लडाई लड्नुपर्ने बेला आएको बताएका छन् ।
विश्वका धेरै प्रतिनिधिलाई एक ठाउँमा राखेर नेपालले गरिरहेको सगरमाथा सम्वादले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र जलवायु परिवर्तनबाट हिमाली समुदायमा पर्ने प्रभावबारे विमर्श हुँदैछ । यस्तोमा प्रधानमन्त्री ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताएका छन् ।
नेपाल सरकारकोतर्फबाट सगरमाथा सम्वादमा सम्बोधन गरेका मन्त्रीहरुले पनि जलवायु संकटको सामना मिलेर गर्नुपर्नेमा जोड दिएका छन् । हिमालको हेरचाहबाट मात्रै मानव भविष्य निर्धारण हुने वनमन्त्रीको दाबी छ ।
यता, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि जलवायु संकट कुनै निश्वित क्षेत्रको नभई सिंगो विश्वको सामूहिक एजेण्डा बनेकोमा जोड दिएकी छन् ।
सगरमाथा सम्वादले जलवायु न्याय र परिपुरणसम्मका विषयमा काम गर्ने विश्वास गरिएपनि कुनै पनि राष्ट्रका प्रमुखहरु उपस्थित भएनन् । भारत र चीनबाट समेत आशा लाग्दो सहभागीता नभएको चर्चा चलिरहेको बेला कार्यक्रम गर्नुलाई नै नेपालले सफलताको रुपमा लिनुपर्ने सरकारको जिकिर छ । सगरमाथा सम्वादले जलवायु न्याय र अन्तराष्ट्रिय हातेमालोको ढोका खोल्न सक्ला ? प्रश्नहरु विविध उठेका छन् । तर, सगरमाथा सम्वादले केहि न केहि सन्देश दिने विश्वास भने गरिएको छ ।
अन्तर्राष्ट्रिय चासो र पाहुनाले के भने ?
जलवायु परिवर्तन अहिलेको सबैभन्दा ठूलो समस्याको रुपमा लिने गरिन्छ । जलवायु परिवर्तनका कारण हिमालदेखि महासागरसम्म पर्ने चर्चा चलिरहेको छ । जलवायु परिवर्तनका कारण हिमाल काला पत्थरको रुपमा परिणत हुँदै गइरहेका छन् भने, हिमालको ग्लासिएर पग्लिएर समेत विभिन्न संकटहरु आउने खतरा कायमै छ। यस्तोमा हिमालमात्रै संकटमा नपर्ने र सिंगो मानव समुदाय नै प्रभावित बन्न खतरा रहेकोमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि हातेमालोको अपिल गरेका छन् ।
यसरी नै भारतका वनमन्त्रीले पनि जलवायु संकटले मान सभ्यता नै संकटतर्फ धकेलिएको भन्दै यसतर्फ सबैले मिलेर काम गर्नुको विकल्प नभएको जिकिर गरेका छन् ।
यस्तै, सगरमाथा सम्वादमा कोप २९ का अध्यक्ष मुख्तर बबयाले पनि जलवायु संकट विश्वव्यापी समस्या भएकाले मिलेर नै सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
सगरमाथा सम्वाद जेठ ४ गतेसम्म चल्नेछ । सगरमाथा सम्वादमा सहभागी विदेशी पाहुनालाई माउन्टेन फ्लाइटदेखि जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्याको बारेमा समेत जानाकरी गराइनेछ । जलवायु न्याय, परिपुरण र जलवायु परिवर्तन न्यूनिकरणका लागि सामूहिक हातेमालोको ढोका खोल्ने समेत विश्वास गरिएको छ ।