News 24 Television
सिधाकुरा मेयरसँग सुरु : वीरगन्जमा बृहत् छलफल, मेयर सिंहले देखाए उपलब्धि

पर्सा । स्थानीय निकायलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले वीरगञ्जबाट ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको थालनी गरेको छ । स्थानीय पालिकाहरुले अहिलेसम्म गरेका कामकारवाही र उनीहरुले काम गर्दै जाँदा सामना गर्नुपरेका चुनौतीहरु जनतालाई जानकारी दिने तथा जनताका गुनासो र प्रश्न सीधा मेयरसँग राख्ने उद्देश्यले न्युज २४ टेलिभिजनले सिधा कुरा मेयरसँग कार्यक्रम शुरु गरेको हो । 

वीरगञ्जको टाउनहल पार्टी प्यालेसमा भएको कार्यक्रमको संचालन गण्डकी व्यूरो प्रमुख समुन ढुंगाना र मधेश प्रादेशिक सम्बाददाता मुस्कान श्रेष्ठले गरेका हुन् । मेयरसँग सीधा कुरा राख्दै जनमत पार्टीकी केन्द्रिय सदस्य रम्भा मिश्रले ग्रामिण भेग महानगरको प्राथमिकतामा किन पर्न नसकेको भन्दै प्रश्न गरिन् । साथै उनले यस वर्ष भएको बेरुजु रकमको बारेमा पनि जानकारी दिन माग गरिन् ।

ede132ab-3ec7-4bce-a133-55957c5e9df0-1747570773.jpg
 

कार्यक्रममा सहभागीहरुले पनि मेयर राजेशमान सिंहसँग दलित बालबालिका विद्यालयसम्म पुग्न नसकेको, दलितलाई बजेट र कार्यक्रममा उपेक्षा गरेको, युवाले रोजगारी पाउन नसकेकोदेखि लिएर वीरगञ्जमा खानेपानीका मुहान सुक्दै गएको लगायतका विषयमा प्रश्न राखेका छन् । 

कुनै समय वीरगञ्ज भन्ने बित्तिकै फोहोर सहरको रुपमा परिचित थियो । तर अहिले महानगरपालिकाले जथाभावी फोहोर गर्नेहरुसँग जरिवाना तिराएरै भएपनि सरसफाईको मामिलामा व्यापक सुधार गरेको देखिन्छ । त्यसैले पछिल्लो समय वीरगञ्ज पहिलेको तुलनामा सफा र सुन्दर देखिएको छ । महानगरपालिकाले सीमित स्रोत साधन र बाधा अड्चनका बाबजुद पनि धेरै सुधारका कार्य गरेको महानगर प्रमुख राजेशमान सिंह दाबी गर्छन् ।

वीरगञ्जको पहिचान बोकेको घण्टाघरको जीर्णाेद्वार गर्न थालिएको बताउँदै मेयर सिंहले आफुले बिरासतमा पाएको शंकराचार्य गेट, गहवामाई मन्दिर लगायतका संरचनाको सौन्दर्यकरण गरेर धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गरिएको बताए । उनका अनुसार ग्रामिण भेगका सबै वडामा पनि पक्की बाटो बनाइएको छ । ग्रामिण भेगमा विकास भएको छैन भन्ने भ्रम हटाउन आग्रह गर्दै उनले आफै गएर हेर्न पनि निवेदन गरे । प्रश्नकर्ताको जवाफ दिँदै उनले महानगरको नेतृत्वमा आउने बेला ७५ करोड रकम बेरुजु थियो भने आफुले घटाएर २२ करोडमा पुर्याएको बताएका छन् । 

123c2bbb-c862-4a5e-a5b5-e0219a13d865-1747570736.jpg
 

वीरगञ्ज महानगरपालिकाले अहिलेसम्म अतिक्रमणमा परेको करिब पौने तीन सय बीघा भन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याएको छ । यद्यपी उक्त जग्गाको लालपूजा सरकारको वा वीरगञ्ज महानगरको नाममा ल्याउनका लागि प्रधानमन्त्री र भूमि सुधार मन्त्रीलाई पत्र लेख्दा पनि सुनुवाई नभएको सिंहको दुखेसो छ ।

उनले वीरगञ्जमा रहेका १६ सय भन्दा बढी कुकुरको बन्ध्याकरण छिटै हुने जानकारी पनि गराए । वीरगञ्जमै विश्वसनीय र गुणस्तरीय शिक्षण संस्था तथा स्वास्थ्य प्रतिष्ठान नहुँदा वर्षेनी शिक्षा र स्वास्थ्यको नाममा करोडौ रकम बाहिरिने गरेकोप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले चिन्ता व्यक्त गरे । सो रकम बाहिरिन नदिएर वीरगञ्जमै खर्च हुने वातावरणको निर्माण गर्न सुझाव दिँदै उनले स्थानीय तहभित्रका निजी अस्पतालको अनुगमन मधेश प्रदेशका मुख्यमन्त्री आएर गर्ने बन्द गराउनुपर्ने अवस्था आउनु स्थानीय तहको कमजोरी रहेको बताए । 

निर्वाचनताका मेयर सिंहले गरेका बाचा र उनका चुनावी एजेण्डा कता गए र के भए भनेर पत्रकार दिपेन्द्र चौहानले मेयर सिंहको ध्यानाकर्षण गराए । मेयर सिंहलाई मत किन ? भन्दै चुनावताका सुनाइएका एजेण्डाहरु कार्यान्वयनमा नआएको आरोप पनि पत्रकार चौहानले लगाए । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले न्यायिक समितिमा आउने मुद्दाहरुमा मिलापत्र गराउने काम भइरहेको बताए । अदालती प्रक्रियामा कम भन्दा कम मुद्दा पठाउने र सकेसम्म आफै मिलापत्र गराउने गरेको उनको दाबी छ । 

कार्यक्रममा एक जना विद्यार्थीको प्रश्न थियो- काठमाण्डौ महानगरपालिकामा बालेन शाहले शुक्रवार बुक फ्रि डे बनाएका छन्, यहाँ किन बनाउन सकिँदैन ? त्यस प्रश्नको जवाफ दिँदै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्विन्दलाल कर्णले वीरगञ्ज महानगरले कसैको सिको नगरेर आफ्नै कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयले एउटै शैक्षिक क्यालेण्डर अनुसार पठनपाठन भइरहेको छ ।  

वीरगञ्ज महानगरपालिकाले ११२ किसिमका औषधी निःशूल्क वितरण गर्नुका साथै ५ वटा बर्थिङ्ग सेन्टर र ३२ वटै वडाका स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा प्रवाह गरीरहेको छ ।

कार्यक्रममा विभिन्न पेशा तथा व्यवसामा संलग्न व्यक्तिहरुले महानगरभित्र भइरहेको विविध गतिविधिप्रति चासो राख्दै जिज्ञासा राखेका थिए भने ति जिज्ञासाको मेयर सिंह, उपमेयर आलम र प्रमुख प्रशासकिय अधिकृत कर्णले जवाफ दिएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update