News 24 Television
तीलबासी आफै जुटे : बाढीको कारण खोज्दै ८ घण्टा हिँडेर हिमताल पुगे

हुम्ला । यहाँकाे लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ । गत बुधवार रातिको बाढीको कारण खोज्दै माथिल्लो तटिय क्षेत्रमा पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका हुन् ।

४ दिनसम्म केन्द्र  र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका हुन् । अध्यक्ष सहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दे ५ हजार ३ सय मिटरको उचाईमा रहेको थाक्रा पुगेको हो ।

1747571215-wsxJu-1747578382.jpg
हिल्सास्थित सिमा सुरक्षामा तैनाथ शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका १० जना सहित स्थानी उचाईमा रहेको थाक्रा पुगेका हुन् । लिमीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । उनीहरु दक्ष प्राविधिक टोली र उपकरण बिना नै उच्च स्थानमा पुगेका हुन् ।

पहिरोका कारण गाउँ पुग्ने सबै संरचना तहस नहस भएको छ । गाउँलाई बाढीले तीन तिरबाट कटान गरिरहेको छ ।  १९ घर परिवारका ३३ जना बसोवास गर्दै आएको तील गाउँमा बुधवार राती लेदो सहितको बाढी आएको थियो ।

1747571214-86Gc4-1747578360.jpg
पहिरोले  हाल्जी र हिल्सा तर्फको बाटो र पुल भत्काएको छ । सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङ्गखोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुको साथै हिल्सा जाने बाटो भत्काएको हो ।

त्यस वरपरको अन्य संरचना पनि भत्काएको छ । पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको वडा नम्बर ६ का पाल्जोर तामाङ्गले जानकारी दिए । उनले भने- ‘जोखिम बढेको छ । केन्द्रीय सरकारले समयमा उद्धार गरेन भने जे  पनि हुन सक्छ ।’

वडा नम्बर ६ स्थित थाक्रामा रहेका दुईवटा चर्किएको जस्तो देखिने तालको संरचना देखाउँदै तील गाउँका स्थानीयवासी कुञ्जोक फुर्बु लामा भन्नुहुन्छ- ‘हामी ५ जना माथि यो तालसम्म आएका छौँ । घटनास्थल तील गाउँबाट यहाँ आइपुग्न ८ घण्टा लाग्यो । अहिले हामी ५ हजार ३ सय उचाईमा छौँ । यहाँ दुईवटा हिमताल रहेछन् । माथि बरफ (हिउँ)को तल पानी रहेछ । त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो । त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ ।’

1747571217-j8A6Y-1747578418.jpg
हुम्लाको नाम्खा गाउँपालिका भित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबै भन्दा विकट गाउँ हो । यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो । मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update