News 24 Television
एकतामा बाँधिने माधव प्रयास, दूर ओली–प्रचण्ड ! 

काठमाडौँ । नेपालमा बाम एकताको चर्चा पटक पटक हुँदै आएको छ । तर यसको सार्थक प्रयास भने भएको देखिँदैन । यदी एकता नै भएपनि व्यक्तिगत र दलिय स्वार्थका कारण एकता टुट्दै आएको छ । यद्यपि पछिल्लो सयम विभिन्न दलहरुबाट पुन बाम एकताको लागि वृहत छलफल गरिनुपर्ने प्रस्ताव आइरहेका छन् । 

यसकै प्रयासस्वरुप विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी (नेसपा) तथा माओवादी केन्द्रले कम्युनिष्ट एकताका लागि पहल गरिरहेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी समेत कम्युनिष्ट एकताका लागि पहल गरिनुपर्ने पक्षमै छ । उसले विगतमा पनि लगातार कम्युनिष्ट एकताकै लागि काम गरिरहेको दावी गरिरहेको छ । र, यसलाई पुन एकताको निश्कर्षमा पुर्याउनुपर्ने नेकपा एसको जोड छ ।  

कम्युनिष्ट एकताकै उदेश्य राखेर २०७४ को आम निर्वाचनअघि एमाले र माओवादीले गठबन्धन गरे । जनताले उनीहरुलाई राम्रैसँग अनुमोदन गरेपनि सत्तामा पुगेपछि नेतृत्वबीच संघर्ष चल्यो । जसका कारण तत्कालीन सरकार र कम्युनिष्ट एकता दुवै पतन भएर गएको अवस्था छ । यद्यपि यसपछिका कतिपय समयमा पनि बाम एकताको चर्चा हँदै आएका छन् । तरपनि यसले ठोष आकार लिने संभावना देखिँदैन । विगतको भोगाइ र तीतो अनुभवका कारण पनि कम्युनिष्ट दलहरु एकताका लागि तत्पर देखिँदैनन् । 

एकतामा शीर्ष नेताकै अनिच्छा !

जनता र कार्यकर्ताको सेन्टिमेन्ट तान्नका लागि मात्रै नेताहरुले बाम एकताको चर्चा  चलाउने गरेको देखिन्छ । यो अर्थमा यसको व्यवहारिक कार्यान्वयन हुन सहज देखिँदैन ।  निर्वाचन अघिका सम्बोधन र कार्यकर्ता रुझाउन माओवादी तथा एमाले नेतृत्वले नै पनि बाम एकताको चर्चा गर्ने गरेका छन् । तर कबुल अनुसार व्यवहार नदेखिँदा उनीहरु स्वयम आलोचित बन्नु परेको स्थिति छ ।

०७९ को आमनिर्वाचनपछि बनेको नयाँ सरकारमा पनि दुई ठूला कम्युनिष्ट पार्टी माओवादी र एमालेले सत्तामा सहकार्य गरे । तर यसको दिगोपना देखिएन । एकअर्काको अविश्वास र संघर्षकै कारण नै उक्त गठबन्धन टुट्यो । यसपछि एमाले र माओवादी नेतृत्वबीच एकता र सहकार्य हुने छाँटकाँट देखिँदैन । पहाडी लोकमार्ग अन्तर्गनको पार्टीको अभियनका  क्रममा डडेलधुरमा पुगेका प्रचण्डले २०८४ अघि एमालेसँग एकता हुने संभावना नरहेको जिकिर गरेका छन् । उनले विगतको सहकार्यमा धोका पाएको दुखेसो गर्दै आउँदो निर्वाचन अघि एमालेसँग एकता नुहने भनेका हुन् ।

यता एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तत्काल बाम एकता सम्भव नरहेको जिकिर गरेका छन् । ओलीले एमाले माओवादी एकतापछि नेकपा बनेको अवस्थामा आफूलाई प्रचण्ड र माधवले कारवाही गरेको स्मरण गर्दै केही स्वार्थ बोकेकाहरुबाट एकता बचाउन नसकेको टिप्पणी गरिरहेका छन् । त्यस्तै उनी तत्काल बाम एकताको संभावना नरहेको पनि दोहोर्याउँछन् ।  

विगतमा वृहत वाम एकताको चर्चासँगै ठूला दलहरुबीच सहकार्य भएपनि यो दिगोपना भएन । जसले टुटफुटको लामो श्रृङ्खला रचेको छ । तर कतिपय नेताहरु एकताका लागि थाकेका भने छैनन् । वर्तमान व्यवस्थाले पनि सरकार निर्माण र टिकाउका लािग एकताको आवश्यकता झल्काउँछ । तर एमाले र माओवादी नेतृत्व नै समझदार बन्न नसक्दा बाम एकता अन्योलतातिर धकेलिने खतरा पैदा भइरहेका हुन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update