News 24 Television
हितेन्द्रलाई प्रश्नः लोडसेडिङ तालिका कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं । झ्याप्प–झ्याप्प विजुली जान थालेपछि सर्वसाधारणले भनिरहेका छन, लोडसेडिङ शुरु भयो । तर, विद्युत प्राधिकरणले यसबारे प्रष्टीकरणबाहेक विकल्प दिन सकेको छैन् ।

विजुली जानुमा प्राकृतिक विपत्तिदेखि लोड व्यवस्थापनका विषयलाई प्राधिकरणले कारण मानेपनि सर्वसाधारण भने प्राधिकरण नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेका छन भने यो विषयलाई सरकारसंग समेत जोडेर हेर्न थालेका छन् । 

नेपाल औपचारिक रुपमा लोडसेडिङबाट मुक्त भएको सात बर्ष बढि समय भइसेको छ । २०७५ बैशाख ३१ का दिन नेपाललाई लोसेडिङ मुक्त देश घोषणा गरिएको थियो । तर यतिबेला पुनः नेपाल अन्धकारमा प्रवेश गर्ने त होइन भन्ने शंकाहरु चलिरहेका छन् । 

लोडसेसेडिङको झल्को दिनेगरी दिनमा पटक–पटक बत्ति जाने र आउने गरेको छ । जसले नागरिकको दैनिकिमा प्रत्यक्ष असर परिरहेको छ । 

पछिल्लो साता देखि दैनिक एक घण्टा हाराहारी नै बत्ती जान थालेपछि नागरिकले विद्युत प्राधिकरणको नेतृत्व र सरकार माथि औला उठाएका छन् । संघीय राजधानी काठमाडौँ बाहेक देशका अन्य क्षेत्रमा चरम मात्रामा लोडसेडिङ बढेको जनगुनासो उत्तिकै छ । 

लोडसेडिङको झल्को देखिनुमा कुलमान बर्खास्ती प्रकरणदेखि सरकारको रबैयालाई प्रमुख कारण नागरिकले मानेका छन् । तर कतिपयले भने श्रोत र साधनको अभावमा समेत लोडसेडिङ भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
सर्वसाधारणमा शंका र चासो बढिरहेको बेला प्रतिनिधिसभामा समेत लोडसेडिङको चर्चा खुलेरै हुने गरेको छ । 

प्रतिनिधिसभामा सांसदहरुले लोडसेडिङ हुन थालेको भन्दै यसलाई सरकारको आयुसंग समेत जोड्दै व्यङ्ग्य कसिरहेका छन् । 

सांसदहरुले समेत प्रश्न गर्न थालेपछि प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालबाटै लोडसेडिङ नभएको र आरोपित गर्न खोजिएको भन्दै लामो उपदेश दिए । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रिमालले दिएको अर्तिमा सर्वसाधारणले भने आक्रोश पोखिरहेका छन्। लोडसेडिङ हुँदा पनि राजनितिक संरक्षण गर्न खोजेको आरोप लगाइरहेका छन् ।

यस्ता विषयको केन्द्रमा देखिन्छन्, सरकारबाट बर्खास्तीमा परेका कुलमान घिसिङ । एक महिना अघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकाले चार महिना बाकीँ छँदै कुलमान घिसिङको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई सुम्पियो । गत बर्ष चैत ११ मा सरकारले कुलमान हटाएर हितेनद्रलाई जिम्मेवारी सुम्पिए यता नेपाली जनताले लोडसेडिङको आभास गरिरहेका हुन् । 

यस्तोमा लोडसेडिङ किन भइरहेको छ ? विद्युत आपुर्तीको अवस्था के छ ? के लोडसेडिङ तालिका नै सार्वजनिक हुन लागेको हो त ? नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य यस्तो जिकिर गर्छन् । 


देशभर विद्युत आपुर्ती गर्न नेपाललाई यतिबेला ३५ सय १२ मेगावाट विद्युत आवश्यक रहेको प्राधिकरणको निष्कर्ष छ । अहिले नेपालमा २ हजार मेगावाट हाराहारीको विद्युतको माग भइरहेको प्राधिकरणको भनाई छ । 

यसमा देश भित्रबाट उत्पादित १३ सय मेगावाट र भारत भाट ९०० हाराहारी विद्युतको जोहो प्राधिकरणले गरिहेको छ । साथै भारतबाट दिनमा ९०० हाराहारी र राति ६०० का दरले विद्युत आयात गरिरहेको छ । 

यता, लोडसेडिङलाई लिएर सत्ता पक्ष र विपक्षका नेताहरु विच जुहारी नै चलेको छ । सडक देखि सदनसम्म लोडसेडिङको बहसमा नेताहरुले ओली नेतृत्वको सरकार र उर्जामन्त्री दिपक खड्कालाई मुख्य दोष दिइरहेका छन् । 

सत्तापक्षका नेताहरुले शाक्यको बचाउ गरेका छन् । लोडसेडिङ छैन भन्ने सरकारी दाबी, हितेन्द्रको नियमितको प्रतिवाद चल्दै गर्दा पनि यसअघि संसदीस समितिको शिक्षा उपसमितिको बैठक नै अन्धकारमा परिणत हुँदा मोवाइल बालेर बस्नु परेको थियो । तर, कार्यकारी निर्देशक शाक्य भने आलोचनालाई सहज रुपमा स्वीकार गरेको बताउँछन् । 

नेपालका नदी नालाबाट प्रशस्त विद्युत उत्पादनको सम्भावना छ । तर, विद्युत आयोजना निर्माणमै कार्टेलिङ हुनेदेखि पीपीए खुलाउने विषयमै ठूलो मतभेद देखिन्छ । भने रन अफ रिभरमा आधारित विद्युत उत्पादन वर्षातमा धेरै हुने र हिँउदमा अपुग हुने समस्या छ । 

तर, यस्तो समस्या समाधान गर्न विद्युत उद्योगलाई लगानीमैत्री बनाउनुको सट्टा आइपीओ जारीमा समेत कमिसन माग्ने गरेको आरोपले लोडसेडिङ अन्त्य होला ? सरकारले इमान्दारिता देखाउला ? शंका स्वभाविक बन्न पुगेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update