News 24 Television
कांग्रेसमा वितण्डा मच्चाउने सुर ! भित्रभित्रै कुन नेताले के गर्दै ?

काठमाडौं । कांग्रेस सरकारमा सहभागी त भएको छ तर, कांग्रेसीहरुको असन्तुष्टिको सीमानै छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले यस्ता सबै विरोध र आलोचनालाई मौन रुपमा खारेज गरिदिएपनि सरकारविरोधि अभिव्यक्तिको आगो भने सल्किन थालिसकेको छ । किन कांग्रेसमा सरकारविरुद्धका आवाज बलिया बन्दैछन् त ? 

कांग्रेसमा सरकारमाथिका शंकाहरु बढ्न थालेका छन् । गभर्नर नियुक्तिमा देखिएका गम्भीर शंका र प्रधानमन्त्री केपी ओलीले गरिरहेको अटेरी भन्दै नेताहरुले विकल्प खोज्नुपर्ने भन्न थालेका छन् । 

कांग्रेस सांसद सञ्जयकुमार गौतमले त प्रतिनिधिसभा बैठकमै राष्ट्रिय सहमतिको सरकार भन्दै केपी ओली नेतृत्वको सरकारले काम गर्न नसकेको प्रष्ट भनिसकेका छन् । 

कांग्रेसले रणनीतिक रुपमा सरकारको विकल्प नखोज्ने दाबी भने गरिरहेको छ । कांग्रेस संसदीय दलको बैठकपछि समेत सरकारको विकल्प नखोजिएको दाबी गरिएको देखिन्छ । 

कांग्रेसले यस्ता विषयमा कुरा गरेको देखिएपनि गभर्नर नियुक्तिमै विचौलिया हाबी भएकोदेखि अनेक आरोप लागिरहेका छन् । 

कांग्रेसले ओली नेतृत्वको सरकारमाथि चुनौति दिने काम गरिरहेको छ । कांग्रेस संसदीय दलको बैठकमा समेत प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा सरकार चलाइरहेको र कांग्रेसमाथि छानीछानी प्रहार गर्न थालेको आरोप नै लगाएको देखिन्छ । कांग्रेस संसदीय दलको बैठकमा बर्खास्तीमा परेका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ ’कान्छाराम’ले दुखेसो पोखे ।

ओलीले बर्खास्त गर्ने हो वा देउवाले फिर्ता बोलाउने हो ? कान्छारामले प्रश्न गरेका थिए । उसोतः मञ्जु खाण, माया राई लगायतले समेत बिलौना पोखेका थिए । तर, देउवाले सटिक जवाफ दिए, राजनीतिमा यस्तो सामान्य हो । मैले पनि मुद्दा झेलेकै हो । जेल बसेकै हो । अन्यथा लिनुहुन्न । देउवालेको यस्तो जवाफपछि कांग्रेसभित्र थप चिढचिढाहट चल्न थालेको चर्चा चलिरहेको छ ।

यता, देउवा समर्थक नेताहरु यस्ता विषयमा भने अर्थपूर्ण मौनता साँध्ने गर्छन् भने, इतर पक्षका नेताहरुले सरकारविरुद्ध कडा आलोचना र विरोधका स्वरहरु निकाल्ने गरिरहेका छन् । कांग्रेसभित्र ओलीले धोका दिन थालेकोदेखि काम गर्न नसकेको आरोप छताछुल्ल बनिरहेको छ । तर, देउवाले भन्ने गर्छन्, उहाँ जेलदेखिकै साथी हो । दुख पाएको मान्छे हो । गठबन्धन तलमाथि हुन्न । के देउवाले यसरी नै लामो समय पार्टीभित्रको दबाब झेल्न सक्लान् ? पार्टी महाधिवेशनको सम्मुखमा पुगेको बेला देउवाले यसरी नै समय गुजार्दा उनको शक्ति यथावत रहला ? प्रश्न र जिज्ञासाहरु बढ्दोक्रममा   छन् । 

पूर्वपदाधिकारीको गठजोड

कांग्रेसका ६ पूर्वपदाधिकारीहरुले कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बसेर छलफल गरेका छन् । उनीहरुले आगामी महाधिवेशनमा कसरी अघि बढ्ने, देउवाको उत्तराधिकारी को हुने ? क्रियाशिल सदस्यता नविकरणमा देखिएको समस्याबारे छलफल गरेको दाबी गरिएको छ । 

छलफलमा श्रेष्ठसहित नेताहरु विमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा प्रकाशशरण महत सहभागी भएका थिए । उनीहरुले पार्टीमा देउवामाथि दबाब सिर्जना गर्ने गरि छलफल गरेको बताइन्छ । तर, देउवा भने आफ्नै सुरमा चलिरहेका छन् । 

यस्तो स्थितिले पनि कांग्रेसमा देउवाको पक्ष विपक्षमा हुने नेताहरुले समेत अब विभिन्न जोखिम सिर्जना गर्ने स्थिति बन्न थालेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update