News 24 Television
सडकदेखि सदनसम्म कचिंगलमात्रै, तस्कर गुमनाम

काठमाडौं । रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइँदै गरेको ठूलो परिमाणको सुन आइतबार प्रहरीले बरामद गरेको छ । कहिले स्थलमार्ग त कहिले हवाई मार्ग भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको छ । सुन तस्करीको जालोको विषयमा दशकौंदेखि संसदमा समेत रडाको हुने गरे पनि भरिया बाहेक वास्तविक तस्कर भने भेटिने गरेका छैनन् । 

गत वर्ष २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेक जाँच गरि बाहिरिँदै गएको ठूलो परिमाणको सुन पक्राउले सदनदेखि सडकसम्म नै ठूलै हलचल मच्चाएको थियो । 

त्यस यता पनि स्थल मार्ग र हवाई मार्ग भएर सुन तस्कर भइ नै रहेका छन् । दुई चार किलो सुन तस्करी त सामान्य जस्तो भइसकेको छ । आइतबार मात्रै रसुवाको केरुङ नाका भएर काठमाडौंतर्फ ल्याउँदै गरेको ठुलो परिमाणको सुन रसुवाबाट पक्राउ गरियो । 

रसुवाबाट पक्राउ गरिएको सुनको परिमाण ७ केजी ६ सय ५३ ग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीले सुराकीको आधारमा रसुवाको गोसाइकुण्ड गाउँपालिका २ बाट यो सुन बरामद गरिएको हो । योसँगै सुन ल्याउँदै गरेको गाडीको चालक पनि समातिएका छन् । 

स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउने गरेको अवस्थामा सुन बरामद गरिएको हो । सुनसँगै गोसाइकुण्ड नगरपालिका ५ घर भएका गाडी चालक किशोर कुमार भुजेल पक्राउ परेका छन् । तर भुजेलले आफूलाई केही थाहा नभएको बयान प्रहरी समक्ष दिएका छन् । 

सुन तस्करको जालो

सुन तस्करीको जालो नेपालमा डरलाग्दो छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै ठूलो परिमाणमा सुन तस्कर हुने गरेको छ । अझ २०७४ सालमा त ३३ किलो सुन तस्करी हुँदा तस्करमा संलग्नहरु पक्राउ पर्दा सुन नै गायब भएको थियो । 

उक्त सुन तस्करी प्रकरणमा तस्करीमा संलग्न टिमबीच विवाद हुँदा सनम शाक्यको हत्या भएपछि मात्रै पोल खुलेको थियो । पछिल्लो समय सुन तस्करी प्रकरणमा राजनीतिक दलका नेताहरु समेत मुछिएका थिए । 

२०७९ पुस १० मा चीनबाट आएको ७३० थान इलेक्ट्रिक चुरोट (भेप)भित्र फिट गरेर तस्करले ल्याएको सुन प्रकरणमा पूर्व सभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित उनका छोरासमेत मुछिएका थिए । तर महरालाई घटनामा संलग्न भएको भन्दै छुट दिइयो । सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन समेत मुछिएका थिए । 

तस्करीमा संलग्न कति समातिए ? 

-  २०७५\७६ मा ११५ जना पक्राउ 

-   आर्थिक वर्ष २०७६\७७ मा ३० जना पक्राउ

-   आर्थिक वर्ष २०७७\७८ मा ५५ जना पक्राउ

-   आर्थिक वर्ष २०७८\७९ मा ८८ जना पक्राउ

परेका थिए । हरेक वर्ष तस्करीमा संलग्न भरियाहरु पक्राउ पर्ने क्रम जारी रहे पनि मुख्य तस्करीको केन्द्र भने गुमनाम नै छ । 

६१ किलो सुन प्रकरणमा सत्ता उछाल

२०८० साउन २ मा त्रिभुवन विमानस्थलबाटै बाहिरिँदै गर्दा सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरण सत्ता राजनीतिमै उछाल आएको थियो । जतिबेला प्रतिपक्षमा रहेको नेकपा एमालेले संसद नै चल्न नदिएपछि जाँचबुझ आयोग नै गठन भएको थियो । 

ब्रेक सुमा लुकाएर ल्याएको भनिएको उक्त सुन प्रकरणको अनुसन्धानका क्रमेमा टोखा लगायतको स्थानमा तस्करले सुन गाल्ने मेशिन समेत फेला परेको थियो  । उक्त तस्करीका मुख्य योजनाकारण चिनिया नागरिक दावाजिन वाङ रहेको थियो । 

र, वाङकै योजनामा चिनिया मुलका बेल्जियम नागरिक दावा छिरिङले काम गरेको थियो । तर आयोगले प्रतिवेदन बुझाएपछि सीआईबीको नेतृत्व समेत हेरफेर गरिएको थियो भने प्रतिवेदन बुझाउँदा सत्ता समिकरण समेत बदलिएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update