News 24 Television
प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो ।

बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए । उक्त प्रश्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ । 

उर्जामन्त्री दीपक खड्काले विगतका कानूनलाई परिमार्जन गर्दै समयानुकुल बनाउनुपर्ने महसुस भएकाले जलश्रोत विधेयक, २०८१ आएको बताए । सोमवार प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलश्रोत विधेयक २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले भएका ऐन कानूनले जलको न्यायोचित बाँडफाँड, संरक्षण गर्नुपर्ने स्थान, जलको क्षमतालगायतका कुरा नसमेटेको अवस्थामा समयसापेक्षित ऐन बनाइएको जानकारी दिए ।

उनले विधेयक सम्पूर्ण जलको विषय, उपयोग, प्रयोग, सदुपयोग र संरक्षणसँगै समुचित बाँडफाँडको जिम्मेवारी आयोगलाई दिइनेगरि ल्याइएको स्पष्ट पारे । सांसदहरुले कार्यान्वयनका विषयमा उठाएको सवालमा मन्त्री खड्काले कार्यान्वयन पक्षमा गम्भीर रहेको र सबै मिलेर काम गर्नुपर्ने अवस्थामा सधैं रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।

सांसदहरुले जलश्रोत विधेयक २०८१ ले नेपालको जलश्रोतको विकासमा नयाँ परिस्थितिको सिर्जना गर्ने बताएका थिए । उनीहरुले प्राकृतिक विपतका जोखिमलाई मध्यनजर गरेर जलाशययुक्त ठूला परियोजना निर्माण गर्दा बाँध सुरक्षा, गुणस्तर र सुनिश्चितताका लागि निर्माण पक्षलाई जिम्मेवार बनाउनु विधेयकको महत्वपूर्ण पक्ष भएको बताएका हुन् । 

 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update