
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन् । सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूहरु मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै उनले एमालेले एकल बहुमत ल्याउने उद्देश्य लिएको बताए । नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको पनि उनले बताए ।
समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भए पनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताए । यही प्रणालीभित्र बहुमत ल्याउनेगरी आवश्यक तयारी थाल्न उनले निर्देशन दिए ।
नेकपा एमाले हजार रुपैयाँ गोजीमा हालिलिएर कुदाउन ल्याएको जमातजस्तो नभएको भन्दै उनले अराजकता सदैव आफूहरुको शत्रु भएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौँ । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौँ । यो असम्भव छैन । यो बिल्कुलै सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नसक्ने, नदिने खालको भरसक त्यस्तो प्रणाली हामी कहाँ छ । तर हामीले धेरै भोट र धेरै सिट ल्यायौँ भने कसैलाई बहुमत ल्याउन नसक्ने खालको परिपाटीमा पनि बहुमत ल्याउन सम्भव छ । समानुपातिक प्रणाली साधारणतया हंग पाल्र्यामेण्टको प्रणाली हो । यसले कसैको बहुमत आउँदैन, साधारणतया । साधारणतया मात्रै होइन, हामीले यो प्रणाली चुनिसकेका छौँ, प्रणाली यही कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ । यो कष्टसाध्य छ, चुनौतिपूर्ण छ, तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । त्यसकारण हामीले मिसन ०८४, एमालेको एकल बहुमत ल्याउने गरीको तयारी यसमा हामी जुटिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताए ।