News 24 Television
प्रधानमन्त्रीको पेलाइ, सत्तामा खटपट र काँग्रेसभित्रको आन्तरिक छटपटी

काठमाडौँ । प्रमुख सत्ता–साझेदार दल नेपाली कांग्रेसभित्र आन्तरिक तथा सत्तासम्बन्धी असन्तोषहरू उकुसमुकुस भई गुम्सिएका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको सरकारमा काँग्रेस मन्त्री तथा सांसदहरुले अनेक गुनासा गरिरहेका छन् । शनिबार काँग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कार्यशैली र निरीह काँग्रेस नेतृत्व (सभापति)प्रति सांसदहरुले खुलेर असन्तोष पोखे । 

पछिल्लो समय काँग्रेससँग गभर्नर लगायत महत्वपूर्ण पदमा नियुक्तिका लागि प्रधानमन्त्री ओलीले बार्गेनिङ, असहयोग, ढिलासुस्ती र अप्रत्यक्ष रुपमा घुर्की समेत देखाउन थालेको काँग्रेस नेता–सांसदहरुको बुझाइ छ । छानीछानी कांग्रेसका नेता तथा सांसदहरुविरुद्ध मुद्दा अघि बढाउँदै तर्साउने र दुःख दिने काम भइरहेको भन्दै सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । सहकारी ठगी प्रकरणमा पक्राउ परे १७ दिन हिरासतमा रही हाल धरौटीमा रिहा भएकै सांसद माया राई त बैठकमै रोएको बताइन्छ । आफूले पार्टीबाट कुनै सहयोग नपाएको र काँग्रेस नेता लक्षित मुद्दा मात्र अघि बढाइँदा नेतृत्व टुलुटुलु हेरेर बसेको उनको आशय थियो । केही समयअघि कुलमान घिसिङको पक्षमा बोलेको भन्दै पद नै खोसिएका पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले प्रधानमन्त्री ओलीको दमन र मनमोमानी सहेर सरकारमा बस्नु परेको भन्दै भावुक सम्बोधन गरेका थिए ।

पार्टी सत्तामा रहे पनि एकथरी काँग्रेस नेताहरु सरकारको सदावहार विरोधी देखिन्छन् । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद अर्जुननरसिंह केसी लगायत नेताहरु सरकार गठन भएदेखि नै आलोचनामा देखिएका छन् । देउवा पक्षधर नेताहरु पनि सरकारप्रति रक्षात्मक देखिन्छन् । पछिल्लो समय गभर्नर नियुक्तिमा भइरहेको अस्वाभाविक ढिलाइ र दाउपेचले सरकारको साख झनै गिरेको छ भने काँग्रेस नेताहरु समेत विरिक्तएका देखिन्छन् । आइतबार काँग्रेसका पूर्व–पदाधिकारीहरू अलग्गै छलफलमा जुटेर राजनीतिक परिस्थितिबारे छलफल गरेको बताइन्छ । सानेपास्थित पूर्व–उपसभापति गोपालमान श्रेष्ठको अपार्टमेन्टमा पार्टीका ६ जना प्रभावशाली पूर्व–पदाधिकारीहरू गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र डा. शंशाक कोइराला भेला भएका थिए । पार्टीको भावी अधिवेशन र वर्तमान सत्ता सहकार्यबारे उनीहरुले आफ्ना उकुसमुकुस राखेको बताइन्छ ।

सोमबार काँग्रेस महामन्त्री गगन थापाले नेपाली काँग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताए । सोमवार कार्यक्रममा सम्बोधन गर्दै उनले काँग्रेसभित्र अहिले सबै तहमा उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट मात्र रहेको जिकिर गरे । तर सँगसँगै काँग्रेसमा एउटा अवसर पनि रहेको उनले बताए । काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै रहने बताए । अब गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि काँग्रेसीजनमा खुशी नरहेको उनको भनाइ छ । काँग्रेसमा मात्र हैन राजनीतिका कारण नेपाली समाजमा समेत उकुसमुकुस रहेको र ‘नेपाल बन्दैन’ भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने उनले बताए ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि एमालेसँगको सरकारका कारण काग्रेस नेताहरु अप्ठेरोमा परेको बताएका छन् । अहिले सत्ता गठबन्धनभित्र असन्तुष्टि र उकुसमुकुस बढेको उनको भनाइ छ । सोमबार एक कार्यक्रममा उनले पूर्वमन्त्री मोहन बस्नेतको सांसद पद समेत निलम्बन भएको, उनलाई मात्रै टार्गेट गरेर भ्रष्टाचार मुद्दा अघि बढाएको भन्दै असन्तोष व्यक्त गरे । अरु पार्टीमा चाहिँ के बसै दूधले नुहाएका छन् र ? भन्दै महतले प्रश्न समेत गरे । उनले भने– ‘नियमनकारी निकायहरूबाट हाम्रै पार्टीका साथीहरूलाई धेरै आरोपित गरिएको छ । अरू पार्टी त सबै दूधले धोएको जस्तो, हामीले पनि हेरैकै, देखेकै हौँ । यो पनि आश्चर्यजनक छ । जसरी अहिले गतिविधि अघि बढेका छन् । जो खास निर्णयकर्ता छ उसको बारेमा निर्णय भएको छैन । अहिले मोहनजीको बारेमा पनि मैले बुझ्दा कल बाइपास रोक्ने प्रवृत्ति चाहियो भनेर सिफारिस गर्नुभएको रहेछ । टेरामक्स भनिएको छैन । त्यसमा अब सबै उसैलाई जिम्मा लगाइदिएको छ यो सब आश्चर्यजनक लागिरहेको छ ।’

सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने भनिएको भेट पनि अन्तिम समयमा आएर स्थगित गरियो । राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि दुई दलबीच रस्साकसी चलिरहेकोले सोमबार मन्त्रिपरिषद बैठक समेत बस्न सकेन । यसरी सरकारभित्र र काँग्रेस पार्टीभित्र नेताहरुमा उकुसमुकुस देखिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update