News 24 Television
प्रधानमन्त्रीमाथि राजावादी खनिएपछि एमालेले छोड्यो प्रत्याक्रमण ‘मिसाइल’

काठमाडौं । राजावादी शक्तिहरुले एकीकृत रुपमा जेठ १५ बाट क्रमबद्ध आन्दोलन गर्ने भएका छन् । आन्दोलन शान्तिपूर्ण तर निरन्तर हुने राजावादी शक्तिहरुको दाबी छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनबारे प्रष्ट मात्रै पारेका छैनन्, प्रधानमन्त्री केपी ओलीलाई भाग्न हेलिकोप्टर नै उपलब्ध गराउने धम्की दिएका छन् । 

हिन्दु राष्ट्र, राजसंस्था र संघीयता खारेजी लगायतका मुद्दा बोकेर आन्दोलनमा होमिन थालेका राजावादी शक्तिहरुले जेठ १५ गतेलाई विशेष बनाउने जिकिर गर्न थालेका छन् । नेपालमा गणतन्त्र स्थापना भएको औपचारिक दिनलाई उनीहरुले चुनौति दिदै आन्दोलन गर्ने भनेपछि सरकारले पनि सुरक्षा सतर्कता अपनाएको जिकिर गरिरहेको छ । 

यता, राप्रपाले एकीकृत र मिलेर आन्दोलनमा जाने वातावरण बनेको भन्दै जेठ १५ गतेदेखि निरन्तर आन्दोलन हुने दाबी गरेका छन् । 

लिङ्देनले यतिमात्रै भनेका भने होइनन् । राजतन्त्र स्थापनाको आन्दोलनले प्रधानमन्त्रीलाई देशमा बस्न कठिन हुने जिकिर गरेका उनले भाग्नलाई हेलिकोप्टर दिने धम्की समेत दिए ।

राजावादी शक्तिहरुले जेठ १५ लाई विशेष दिनको संज्ञा दिदै गर्दा राप्रपा नेपाल पनि उत्साहित देखिन्छ । उद्देश्य प्राप्तिका लागि लड्ने लडाईमा विचलित नहुने र निरन्तर आन्दोलनको बलबाट उपलब्ध हासिल गर्ने राप्रपा नेपालको दाबी छ । 

राजावादी शक्तिहरुले आन्दोलनलाई एकताबद्ध बनाएपनि उनीहरुको निरन्तरको आन्दोलनमा जनताको सहभागीता कस्तो रहला ?

 सरकारले आन्दोलनका लागि कसरी व्यवस्थापनको बाटो रोज्ला ? तमाम विषयले धेरै कुरा निक्र्याैल गर्नेछ । तर, राजा ल्याउने नल्याउने विषयको चर्चाकाबीच नेपाल मजदूर किसान पार्टीले भने राजा ल्याउने समय अहिले नभएको जिकिर गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले राजा आवश्यकताको विषय नभएको भनेका छन् । 

एमाले आक्रोशित

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई भाग्न हेलिकोप्टरको व्यवस्था गरिदिने भनेपछि एमाले सांसद सूर्य थापाले कडा आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै सांसद थापाले आन्दोलनको भट्टीबाटै आएको स्मरण गर्दै लिङ्देनलाई कडा चुनौति समेत दिएका छन् । 

लिङ्देनले धेरै ठूलो कुरा गरेको भन्दै थापाले विगतका आन्दोलनमा ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘क्षमा गर तर नबिर्स’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ नभनेको जिकिर गरेका छन् । हेलिकोप्टर प्रस्तावलाई कसरी बुझौं भनेका उनले प्रतिस्पर्धा–सहअस्तित्व – सहकार्यको रुपमा कि, ‘कि तँ छैन, कि मँ छैन’ कुन रुपले बुझ्ने भन्दै जस्तोसुकै कुरामा पनि तयार रहेको चेतावनी दिएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update