News 24 Television
विद्युत प्राधिकरणको नाफाघाटाबारे त्रिपक्षीय छलफल गर्न माओवादीको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफाघाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् ।

बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट सिस्टम र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को तरीकाले अडिट गरिएको बताए । संसदीय समिति स्पष्ट हुनका लागि विद्युत प्राधिकरणको एमडीसहित, पूर्वएमडी र महालेखा परीक्षकलाई बोलाएर छलफल गर्न माग गरे । प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि यसरी त्रिपक्षीय छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताउँदै उनले कुलमान दोषी देखिए कानूनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे ।

सापकोटाले भने, ‘हिजो कुलमानजी हुँदाको अडिट सिस्टम एउटा थियो, अहिले तपाईंहरुले अर्को डिट सिस्टमबाट लैजानुभयो । त्यही कुरा त भन्नुपर्छ नि । विद्युत प्राधिकरणको एमडीसहित आवश्यक परे महालेखालाई समेत झिकाएर छलफल गर्नुपर्ने स्थिति देखियो मन्त्रीज्युको कुरा अनुसार । विद्युत प्राधिकरणको बहालवाला एमडीलाई झिकाऔँ । कुलमानजीलाई झिकाऔँ । महालेखालाई ल्याऔँ । सबैभन्दा पहिलो कुरा हामी पारदर्शी ढंगले बुझौँ । हामी प्रतिपक्षको रक्षा गर्ने, सत्तापक्षले खेदो खन्ने कुराको बन्द गरौँ । विलम्व नगरी सबैका कुरा सुनेर हामी निर्णय गरौँ । कुलमानजीको गल्ती रहेछ भने नेपालको कानूनले कसैलाई छोड्ने कुरा आउँदैन ।’

उनले राम्रो गरेको जतिलाई राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update