-1747835468.jpg)
काठमाडौँ । लामो राजनीतिक रस्साकस्सीपछि मंगलबार राष्ट्र बैंकले औपचारिक रुपमै गभर्नर प्राप्त गरेको छ । गभर्नर पद रिक्त भएको डेढ महिना नाघिसक्दा पनि नियुक्ति दिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठेको थियो । त्यस्तै यसै कारण सत्तारुढ दुई राजनीतिक दलबीच समेत तिक्तता बढ्यो । यद्यपि मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णायक वार्ता गरेर डा.विश्व पौडेलललाई गभर्नर नियुक्त गर्ने निश्कर्ष निकालेका हुन् । जस अनुसार नै मन्त्रिपरिषदबाट पौडेल गभर्नरमा नियुक्त भइसकेका छन् ।
दुई दलीय संघर्षमा देउवाको जीत !
सत्ता गठबन्धनमा गभर्नर पद कस्ले लिने भन्ने विषयमा लामै टसल चलेको थियो । ओलीले काँग्रसेलाई नै गभर्नर दिने सहमति यसअघि नै गरेपनि उनले भित्रि रुपमा आँफैले छानेको पात्र अर्थात कायम मुकायम गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाउने रणनीति पनि बुनेका थिए । तर ओली यसमा असफल देखिएका छन् । उनले नीलमलाई नै गभर्नर बनाउन काँग्रेसले पहिलो पटक अघि सारेको पात्र गुणाकर भट्टको राजीनामा स्वीकृत नगराउन जोडलबल समेत गरेको दावी गरिन्छ । अदालती झमेला पार गर्दासमेत नीलमले गुणाकरको राजीनामा स्वीकृत गरेकी थिइनन् । जुन ओलीकै निर्देशनमा भएको दावी गरिन्थ्यो । र, ओली पनि निलमलाई नै गभर्नर बनाउने पक्षमा उभिँदै आएका थिए ।
तर ओलीको यो चाललाई बुझेको काँग्रेसले गुणाकरको विकल्प खोजेर विश्व पौडेललाई गभर्नर बनाउन सफल भएको छ । काँग्रेसले गभर्नर आफ्नो पोल्टामा पार्न ओलीको हरेक रणनीतिलाई बुझेर कदम चाल्दै आएको थियो । दुई दलबीचको किचलो कै कारण गभर्नर नियुक्तका लागि गठित सिफारिस समिति समेत दुई पटक पुनर्गठन भयो । यद्यपि गभर्नर नियुक्तिको मामला ओलीविरुद्ध देउवा नै हावी भएका छन् ।
सत्ता नै धरापमा परेपछि ओली ब्याक !
चैत २२ गते नै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको होे । सरकारले त्यसको एक महिना अघि नै भावि गभर्नर टुंगो लगाउनुपर्ने थियो । तर सरकारले उक्त निर्णय गर्न सकेन । यसपछि राजनीतिक भागबण्डा र पात्र छनौटले अझ समय लिँदा काँग्रेस एमालेबीच नै तिक्तता बढ्ने अवस्था भयोे । जसले प्रधानमन्त्री र सत्ता समीकरणमाथि नै गम्भीर प्रश्नहरुसमेत उठाएका थिए । यो विषयमा सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका नेताहरुले समेत सरकारको आलोचना गरे । यसको नैतिक दवाबसमेत झेलेका प्रधानमन्त्री ओलीले संसदमा गयल र मन्त्रिपरिषद बैठक नै रोकेर गभर्नर छनौट गर्नुपर्ने अवस्था सृजना भयो । नियमित कार्यतालिका अनुसार गत सोमबार नै मन्त्रिपरिषद बैठक बस्नुपर्ने हो । तर गभर्नर छनौट गर्न नसकेकै कारण बैठक मंगलबारलाई सारियो ।
त्यस्तै मंगलबार संसदको प्रश्नोतर कार्यक्रममा समेत उपस्थित नभएर ओलीले गभर्नर नियुक्त गर्न छलफल अघि बढाए । मंगलबारको संसद बैठकमा ओलीले अस्वस्थताका कारण सहभागीता जनाउन नसक्ने भनेपनि उक्त समय ओली र देउवाबीच बालुवाटारमा छलफल भइरहेको थियो । यही बैठकबाट नै ओली र देउवाबीच विश्व पौडेललाई गभर्नर बनाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपछि अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले विश्व पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । यसरी ओली चौतर्फी दवाब र नैतिकताको घेरामा परेपछि काँग्रेसले नै अघि सारेको पात्रलाई गभर्नर बनाउन बाध्य बनेका हुन् । नत्र यही विषयलाई लिएर सत्ता गठबन्धन तलमाथि हुँदैन, भन्न सकिने अवस्था थिएन ।