
काठमाडौं । नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नभएको जिकिर गरिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले पनि लोडसेडिङ हुनै नसक्ने भन्दै सरकारलाई दुःख दिने काम चलिरहेको आरोप लगाइरहेका छन् । तर, वत्ति झ्याप्प–झ्याप्प जान थालेपछि सर्वसाधारण भने लोडसेडिङ हुन थालेको भन्दै आक्रोश पोखिरहेका छन् भने, औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङले उत्पादन मूल्य समेत प्रभावित बन्न पुगेको गुनासो चलिरहेको छ । यि परिवेश देखिरहदा पनि के लोडसेडिङ नभएकै हो त ? लोडसेडिङको हल्ला सामाजिक सञ्जालमा सरकारलाई बदनामित पार्न ल्याइएको हुईंयामात्रै हो वा अघोषित लोडसेडिङले तनाव दिन थालिसकेको छ ?
ऊर्जामन्त्री दीपक खड्काले भनिरहेका छन्, लोडसेडिङ भयो भन्दै विदेशबाट फोन गरेर दुख दिन थाले । तर, उनै मन्त्रीलाई विदेशबाट रेमिट्यान्सबाहेक केहि पठाउनै मिल्दैन भन्ने लाग्दो रहेछ, सायद ।
फोन गरेर लोडसेडिङ भयो भन्दा कन्पारो तातिने रहेछ । विदेशमा रहेकाहरुका आफन्त, परिवार नेपालमा छन् र नेपालमा वत्ति गएको कुरा उनीहरुले थाहा पाइहाल्छन् । अझं, लोडसेडिङ नगराउ भनेर दबाब दिएको अर्थमा बुझेको भएपनि फरक त पक्कै पर्दैनथ्यो । यस्तो हुनै कठिन छ ।
विद्युत प्राधिकरणले लोडसेडिङका कुरालाई अस्वीकार मात्रै गर्ने गरेको छैन, कुलमान घिसिङ हुँदा पनि वत्ति जान्थ्यो भन्न थालेको छ । तर, ऊर्जामन्त्री प्राधिकरणको बचाउमा उत्रिने र प्रतिवाद गर्ने मामलामा एक कदम अघि भेटिन्छन् । अनि भनिदिन्छन्, लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा यस्तो केहि छैन् ।
मन्त्रीले प्राधिकरणको बचाउ गरिरहँखा विद्युत प्राधिकरणलाई घाटामा देखाइएको स्वेत्रपत्रमा समेत प्रश्न उठिरहेका छन् । कुलमानले देखाएको नाफा र हितेन्द्रदेव शाक्यले देखाएको घाटाको वास्तविकताबारे समेत चासो व्यक्त हुन थालेको छ ।
माओवादी लगाएत दल र सर्वसाधारण पनि कुलमानको पक्षमा दह्रो उभिन पुगेको छन्, भने सत्तारुढ दलभित्र यसका अनेक आयामहरु देखिन्छन् । कांग्रेसकै एक पक्षले कुलमानलाई नै महत्व दिन्छ भने अर्को पक्ष मौनप्रायः देखिन्छ । तर, एमाले कुलमानको विपक्षमा कडा उभिन खोज्छ । त्यसैले होला, कुलमानलाई बर्खास्त गरेपछि उठेका आवाजविरुद्ध एमालेका आवेग अहिले पनि उस्तै देखिन्छन् ।
विद्युत प्राधिकरणमा भित्रिएको राजनीतिले सत्य के ? असत्य के ? वास्तविकता खोज्ने कसले ? यी विषय गौण बनाइदिएको छ । स्वेतपत्रकै स्वच्छतामा प्रश्न उठिरहँदा ऊर्जामन्त्री भनिरहेका छन, स्वेतपत्र सहि छ । यथार्थपरक छ ।
सरकारले यस्तो दाबी गरेपनि जनता मान्न तयार देखिन्नन् । यस्तो चपेटोमा परेको विद्युत प्राधिकरणले आफूलाई कसरी सहि बाटोमा उभ्याउँछ त्यो भने हेर्न बाँकी छ ।
लोडसेडिङ भएकै हो ?
काठमाडौं उत्यकासहित देशका विभिन्न क्षेत्रमा विजुली जाने आउने भइरहन्छ । अझं, तराई क्षेत्रमा झ्याप्प–झ्याप्प वत्ति जाँदा गर्मीको प्रभाव पर्ने गरेको छ भने सर्वसाधारणले गुनासो सामाजिक सञ्जालबाट पोख्ने गरेका छन् । यस्तो स्थिति चलिरहेको बेला के लोडसेडिङ सरकारले भने जस्तै नभएकै हो ? यसबारे जान्न हामीले सातै प्रदेशका सर्वसाधारणलाई सोधेका छौं, – ’विद्युत प्राधिकरण लोडसेडिङ छैन, दुख दिनलाई अनेक षडयन्त्र भयो भन्दैछ । के वत्ति जाने आउने अनुभव गर्नुभएको छैन ?’
तनावमा उद्योग
उद्योग क्षेत्रमा अत्यधिक लोडसेडिङ भएको भन्दै उत्पादन सामाग्रीको मूल्य समेत प्रभावित भएको देखिन्छ । उद्योगीहरुले अघोषित लोडसेडिङका कारण समस्या सिर्जना भएको दाबी गरेपनि सरकार उद्योगमा लोडसेडिङ भएको स्वीकार्न तयार देखिन्न ।
उद्योगमा लोडसेडिङ नभएको सरकारको दाबीमा भने विश्वास गर्ने स्थिति छैन । भारतबाट विद्युत खरिदमा समेत केहि उल्झनहरु देखिएको र नेपालको विद्युतले नधान्ने स्थितिमा लोडसेडिङ स्वभाविक भएपनि यस्तो तथ्य लुकाउन खोज्दा विवाद र आलोचना थप बढ्न पुगेको देखिन्छ । उद्योगीहरुले लोडसेडिङको मार खेपिरहेको जिकिर गर्दै गर्दा लोड व्यवस्थापनदेखि विद्युत वितरण प्रणालीलाई वैज्ञानिक बनाउन सकेमा मात्रै पनि यसले ठूलो राहत दिने देखिन्छ । तर, प्राधिकरण र सरकारलाई वास्तविक तथ्य देखाउन चुनौति थपिएकाले पनि स्थिति बिग्रने खतरा र डर छ । यद्यपी कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा हुँदा समेत उद्योगमा लोडसेडिङ हुने गरेको तथ्य सार्वजनिक भइसकेको विषय हो ।