
काठमाडौं । नेपालमा वर्षेनी सयौं जनाले प्राकृतिक विपत्तिबाट ज्यान गुमाउँदै आएका छन् । तरपनि, सरकारले विपत्त पूर्वतयारी र विपत्त व्यवस्थापनका क्षेत्रमा खास काम गरेको देखिदैन । यस वर्षपनि वर्षायाम शुरु हुनैलाग्दा वर्षाजन्य विपद्को जोखिम गत वर्षभन्दा उच्च रहने आकलन छ । यस वर्ष वर्षायाममा कति पानी पर्ने छ त ?
नेपालमा हरेक वर्ष विपत्तका घटना बढ्दो क्रममा छन् । पछिल्ला १० वर्ष यताको तथ्यांक केलाउने हो भने पनि वर्षेनी हजारौं यस्ता घटना भइरहेका छन्, जहाँ सयौं मानिसले मृत्युवरण गर्नु परिरहेको छ ।
विशेषगरि वर्षायाममा विपत्तका घटना हरेक वर्ष आतंकित बनाउने गरि घट्ने गरेका छन् । वर्षाको प्रकोपले निम्त्याउने बाढी, पहिरोमा परि सयौंले ज्यान गुमाइरहेका छन् भने, अर्बौंका संरचना ध्वस्त बनिरहेका छन् ।
गएको वर्षको मात्रै कुरा गर्ने हो भने पनि जलजन्य विपत्तका घटना सयौं घटे । यस वर्ष पनि गतवर्षको तुलनामा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । यसको अर्थ हो, यो वर्ष थप सतर्कता नअपनाए गतवर्षभन्दा बढी क्षति वेहोर्नु पर्ने छ ।
गएको वर्ष बाढी–पहिरोका के कति घटना भए त ?
- गतवर्ष भएका विपत्तका सबै घटनामध्ये सबैभन्दा बढी पहिरोका कारण ३ सय ५१ जनाको ज्यान गएको छ ।
- बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको भारी वर्षाका कारण आठ जनाको मृत्यु भएको छ ।
- बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८ घटना भएका छन् ।
- हावाहुरीका ३४९, डुङ्गा पल्टेको एक, हिउँ पहिरोका ६ भूकम्पका ७४, असिनापानी एक घटना भएका छन् ।
- यि घटनाहरुबाट सरकारको मात्रै अर्बौंको क्षति भएको छ भने निजी सम्पत्ति पनि यही अनुपातमा क्षति भएका छन् । यि जलजन्य विपत्तका घटना मात्रै हुन् ।
- आगलागी लगाएतका अन्य विपत्तका घटना सबै जोड्दा त एक वर्षमै एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको छ ।
- विपद्का घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका छन् ।
- एक वर्षमा विपद्बाट १८ हजार ९ सय ९१ घरपरिवार प्रभावित हुन पुगेका छन् ।
- कुल तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको छ ।
यस वर्ष विपत्त जोखिम न्यूनिकरणबारे के भन्छ सरकार ?
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक व्यक्तिसमक्ष पु¥याउनु आजको आवश्यकता रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै उनले यस्तो बताए । मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको उनको भनाई छ ।
उनले ठूलो सङ्ख्यामा काम गर्ने मानिसहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताए । यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न उनले विभागलाई निर्देशन समेत दिएका छन् ।
यस वर्ष कस्तो छ मनसुनजन्य विपत्तको जोखिम अवस्था ?
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने जानकारी गराए ।
- यसवर्ष देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको छ ।
- यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना
- नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्युनिकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने
- १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने
- यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकोले तयारी अवस्थामा बस्नुपर्ने
- मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ ।