
काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको १० महिना बढी भइसकेको छ । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । ओलीलाई प्रमुख सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिइरहेका छन् । मुलुकको बागडोर ओलीले सम्हाले पनि पर्दा पछाडी भने सभापति देउवा नायकी भुमिकामा छन् । विभिन्न अल्झनकाबीच गर्भनर नियुक्तिमा देउवाले आफ्नो तागत देखाइदिदा ओली थर्कमान बनेका छन् । कुनै बेलाका जब्बर ओली किन रक्षात्मक बन्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आक्रमक शैलीका नेताका रुपमा लिइने गरिन्छ । पछिल्लो समय प्रधानमन्त्री ओली भने केहि रक्षात्मक बन्न थालेका छन् । ओली सत्ता र शक्ति बाँडफाँडमा रक्षात्मक देखिएका हुन् । सत्ता सहयात्री दल नेपाली कांग्रेसको ढोक्सामा परेका ओलीले आफुखुसी निर्णय गर्न सकिरहेका छैनन् । २०७७ मा अध्यादेश मार्फत प्रधानमन्त्री ओलीले तीन दर्जन बढि संवैधानिक आयोगमा आफु नजिककालाई नियुक्ती दिएका थिए । जतिबेला उनलाई न कानुनले रोक्यो न अन्य कुनैले निकायले ।
यतिबेला ती विभिन्न निकायका प्रमुखको कार्यकाल सकिदै गएको छ भने नयाँ नियुक्ती प्रक्रिया अघि बढिरहेका छन् । यस्तो अवस्थामा ओलीको आँखा तीनै अंगमा परेको छ । तर असफल सावित भइरहेका छन् । गर्भनर नियुक्तमा करिब एक महिना हलो अड्काएका ओलीले अन्ततः देउवाकै बचन मान्न बाध्य बने । सरकार ढल्ने सम्मको संकेतपछि ओली रक्षात्मक देखिएका हुन् । कुनै बेलाका जब्बर ओली यतिबेला रक्षात्मक बन्नपर्ने अवस्थामा पुगेका छन् ।
सत्ता पक्षको नेताबाटै दबाब
प्रधानमन्त्री ओली पार्टी भित्र र बाहिरबाट दबाबमा परेका छन् । सहयात्री दल कांग्रेसका नेताहरुले ओली सरकारको कार्यसम्पादनको खुलेरै आलोचना गरिरहेका छन् । विशेषगरी कांग्रेस संस्थापन इतर पक्षका नेताहरु बढि सक्रिय छन् । इतर पक्षका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्मा ओलीका लागि भारी बनिरहेका छन् । सार्वजनिक रुपमै तीनै नेताले ओलीलाई रचनात्मक रुपमा दबाब बढाइरहेका छन् ।
अर्काेतर्फ दुई ठुला दलको स्थायी सरकार बनेको दश महिना पुरा भइसक्दा समेत जनताले चित्त बुझ्नेगरी काम गर्न नसकेको जन गुनासो बढिरहेको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीबाट एमाले नेताहरु समेत सन्तुष्ट छैनन् । यसले प्रधानमन्त्री ओली माथि थप दबाब बढेको छ ।
चौतर्फी आलोचनाको तारोमा परेका ओली भने देउवा दाइने हुन्जेल ढुक्क छन् । सार्वजनिक मञ्चमा ओलीले अधिकांश गर्ने भाषणमा समेत देउवालाई प्रधानमन्त्रीको चाबी हस्तान्तरण गर्न हतारो देखाएका हुन्छन् । ओलीका यस्ता अभिव्यक्तिले समेत रक्षात्मकताको विगुल बजेटको स्पष्ट झल्किन्छ ।
नेकपाकालिन समयका जब्बर ओली
तत्कालिन समयमा नेकपाको दुई तिहाईको सरकार हुँदा ओलीको सान नै बेग्लै थियो । दुई तिहाई सरकारका पावरफुल प्रधानमन्त्री ‘ओली बा’ नामले समेत उतिबेलै परिचित थिए । तत्कालिन सहयात्री पुष्पकमल दाहाल र माधवकुमार नेपालाई छाँयामा पारेका ओलीको राष्ट्रवादी भावलाई सबैले मन पनि पराएका थिए । पछि सत्ता र शक्ति बाँडफाडमा तत्कालिन नेकपाका नेता पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग सम्बन्ध विग्रिँदा समेत ओली निडर देखिन्थे । तर यतिबेला सत्ता जोगाउनका लागि ओली देउवाको छायाँ बनिरहेका छन् । पछिल्लो अवस्थामा कुलमान घिसिङ प्रकरणले पनि ओलीको खुबै आलोचना भयो ।
ओलीले चार महिना बाँकी कार्यकाल छँदै हितेन्द्रदेव शाक्यलाई विधुत प्राधिकरणको चाबी सुम्पिएका थिए । अहिले नियमितजसो विद्युत कतौती भइरहँदा शाक्यसँगै ओलीको पनि आलोचना भइरहेको छ । राष्ट्रिय राजनीतिमै आलोचनाको तारोमा परेका ओली सत्तायात्रा लम्ब्याउने ध्याउन्नमा रक्षात्मक बनेको विश्लेषण भइरहेको छ ।