News 24 Television
राजावादीको पत्रपछि दिग्भ्रमित रास्वपा, साथ कसलाई ?  

काठमाडौं । राजावादीहरु आगामी जेठ १५ गतेदेखि भिषण आन्दोलन चर्काउने तयारी गरिरहेका छन् । राजसंस्था पक्षधर सबै दल तथा विचार समूहहरुले संयुक्त रुपमा आन्दोलन चर्काउने साझा संकल्प नै गरेका छन् । आन्दोलनका लागि देशैभरबाट कार्यकर्ताहरुलाई काठमाडौं उतार्ने योजना उनीहरुको छ । निर्णायक आन्दोलन गर्ने चेतावनी दिइरहेका राजावादीहरुले ७९ सालको निर्वाचनबाट उदाएको पार्टी रास्वपालाई समेत औपचारिक पत्र पठाएर आन्दोलनलाई साथ दिन आह्वान गरेका छन् । तर रास्वपाले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुपक्र्षका लागि थुनामै छन् । लामिछाने थुनामा रहेकै कारण रास्वपाले गर्ने उद्घाटन समेत गरिसकेको ‘जनयात्रा’  अभियान समेत प्रभावित भयो । लामिछाने थुनामा रहेका कारण डोलप्रसाद (डीपी) अर्याल रास्वपाको कार्यबाहक सभापति छन् । 

तर कार्यवाहक सभापति अर्यालले पार्टी गतिविधिलाई तीब्र बनाउनै सकेका छैनन् । संसदको चौथो ठूलो दल बनेर एकएक उदाएको रास्वपालाई मुलधारका भनिएका ठूला राजनीतिक दलका नेताहरुले भेलबाढी भनिरहेका छन् । उनीहरुले वैचारिक दृष्टिकोण नै स्पष्ट नभएको दलको आरोप रास्वपालाई लगाउने गरेका छन् ।

पुराना राजनीतिक दलका नेताहरुले लगाउने गरेको आरोप चिर्न नसकेको रास्वपालाई राजावादीहरुले पत्र नै पठाएर आफूहरुको आन्दोलनमा साथ दिन प्रस्ताव गरेका छन् । रास्वपा कार्यबाहक अध्यक्ष डीपीलाई नै सम्बोधन गरी आफूहरुको आन्दोलनमा सहकार्यका लागि औपचारिक प्रस्ताव गरे पनि रास्वपाले भने औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । 

राप्रपा लगायतका राजावादी शक्तिहरुले भने जेठ १५ गतेदेखि शुरु गर्ने भनेको आन्दोलनलाई जनआन्दोलनकै रुपमा अघि बढ्ने बताइरहेका छन् । मुलुकमा ब्यप्त बेथितिका कारण आम नागरिकमा असन्तुष्टि बढेको कारण आन्दोलनको बाढी ल्याउन सकिने उनीहरुको आंकलन छ । त्यसैले उनीहरु प्रधानमन्त्री नै भाग्ने अवस्था आउनेसम्मको चेतावनी दिइरहेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा गठित नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको अगुवाईमा आन्दोलन चर्काउने तयारी राजावादीहरुको छ । सुवेदीको नेतृत्वको विषयमा टेँढिएका राजावादी दलहरु भने यतिबेला एकै ठाउँमा उभिएका छन् । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल, बीपी कांग्रेससहित विभिन्न राजावादी संघ संस्थाहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनेपछि राज्यले राजावादीहरुमाथि दमनको नीति लिएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले बैठकले राज्यको दमनको कारण राजावादीहरुको शक्ति क्षीण बनेको निश्कर्ष नै निकालेको थियो । 
असन्तुष्ट दल तथा समूहको साथ खोज्दै राजावादीहरु 

पूर्वराजाको सक्रियताले उत्साहित राजावादीहरु  कमजोर बनेको आंकलन भइरहँदा उनीहरुले विभिन्न रास्वपा लगायत दलहरुका साथै अन्य स्वतन्त्र समूहहरुको पनि साथ लिन खोजिरहेका छन् । पार्टी सभापति लामिछानेको मुद्दा प्रकरणका कारण पनि रास्वपा वर्तमान प्रणालीप्रति असन्तुष्ट देखिएको छ । नयाँ उदाएको शक्तिप्रति नै प्रतिशोध साँधेको आशंका रास्वपालाई पनि छ । वर्तमान ब्यवस्था अन्तर्गत लामिछानेले न्याय पाउन नसक्ने भन्दै राजवादीहरुले रास्वपाको पनि साथ खोजिरहेका छन् । 

तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष राजावादी आन्दोलनका कमाण्डर सुवेदीले डीपीलाई औपचारिक पत्र नै पठाएर सहकार्यको प्रस्तावले रास्वपालाई ठूलो झड्का लागेको छ । 

‘तपाईकै पार्टीको मुल सैद्धान्तिक चिन्तन र वर्तमान ब्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दै, म हाम्रो आन्दोलनमा सहभागिता र सहकार्यको प्रस्ताव गर्दछु,– सुवेदीले डीपीलाई लेखेको पत्रमा उल्लेख गरेका छन् । यो अवस्थामा रास्वपा कार्यबाहक अध्यक्ष डीपीलाई औपचारिक प्रतिक्रिया दिनै सकस भएको छ । राजावादी शक्तिहरुको आन्दोलन साँच्चिकै निर्णायक बन्ने अवस्थामा रास्वपाले वैचारिक दृष्टिकोणसहित आफ्नो कित्ता स्पष्ट गर्नु जरुरी छ । 

  
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update